काठमाडौं । सभामुख देवराज घिमिरेले पछिल्लो समय संसद्प्रति जनविश्वास घट्न थालेको बताउनुभएको छ ।
संसदीय मामिला पत्रकार समाजले आज गरेको पुस्तक विमोचन कार्यक्रममा सभामुख घिमिरेले सांसदहरु संसदीय गतिविधिमा भन्दा अन्य काममा सक्रिय हुँदा संसद्प्रति जनविश्वास घट्न थालेको बताउनुभएको हो । पछिल्लो समय लोकतान्त्रिक प्रणालीलाई नै कमजोर पार्ने प्रयास भइरहेकाले यो सोचनीय विषय भएको उहाँको भनाइ थियो ।
सभामुख घिमिरेले संघीयता कार्यान्वयनसम्बन्धी विद्यालय शिक्षा, संघीय निजामती सेवालगायतका विधेयक छिटो टुंगो लगाउन आफूले पटक–पटक निर्देशन दिइरहेको बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसदीय प्रणाली अझै खुल्ला हुन नसकेको भन्दै यसमा बहस गर्नुपर्ने बताउनुभयो । उपसभामुख इन्दिरा रानाले संविधान निर्माणको ९ वर्षमा पनि संघीयता कार्यान्वयसम्बन्धी कानुन बन्न नसकेको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।