काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले राजनीति गर्न नभई देश बनाउन बनेको पार्टी भएको बताउनु भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तहमा पार्टी कामका समस्या र समाधान राष्ट्रिय कार्यशालामा बोल्दै प्रधानमन्त्री ओलीले एमाले जन्मैदेखि महान उद्देश्य बोकेको पार्टी भएको उल्लेख गर्नु भयो । उहाँले देशमा सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रूपमा पुर्याउनका लागि आफ्नो पार्टी बनेको बताउनु भयो ।
नागरिकलाई अधिकार सम्पन्न बनाउने गरी एमालेले काम गरिरहेको बताउँदै उहाँले परिस्थितिमा परिवर्तन ल्याउने गरी काम गर्न नेता कार्यकर्ताहरूलाई निर्देशन समेत दिनु भयो ।
उहाँले भन्नु भयो, “यो राजनीति गर्न बनेको पार्टी होइन । यो देश बनाउन बनेको पार्टी हो । देशमा परिवर्तन ल्याउन, सकारात्मक परिवर्तन ल्याउन र सामाजिक व्यवस्थापनमा अहिलेसम्मका परिस्कृत रूपहरूमध्ये उच्चतम रूपमा पुर्याउनका लागि यो पार्टी बनेको हो । जहाँ जनता अधिकार सम्पन्न हुन् । गरिबी हुनु भएन । गरिबी निवारण हुनुपर्यो, खान लगाउन पाउनुपर्यो । मुख्य अधिकार त त्यो हो नि । बाँच्न पाउने अधिकार मुख्य कुरा हो । जनताले सजिलोसँग बाँच्न पाउनु पर्यो । बाँच्नका लागि खान, लगाउन, बस्न पाउनु पर्यो ।”
प्रधानमन्त्री ओलीले पहिलो कुरा आर्थिक रूपान्तरण भएको बताउँदै जनताको जीवनमा आधारभूत आवश्यकताहरूको परिपूर्ति हुनु पर्ने बताउनु भयो ।