काठमाडौं । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पार्टीभित्र वैचारिक र सांस्कृतिक विचलन रहेको स्वीकार गर्दै रुपान्तरणको आवश्यकता रहेको बताउनुभएको छ ।
कान्तिपुर टेलिभिजनको साप्ताहिक कार्यक्रम फायरसाइडमा कुरा गर्दै श्रेष्ठले पार्टीमा आमूल परिवर्तन नभई मुलुकको नेतृत्व लिने स्थानमा पुग्न नसक्ने बताउनुभएको हो ।
यस्तै पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनको सक्रिय राजनीतिमा फर्किने चाहनाको प्रसङ्गमा श्रेष्ठले यसबारेमा पार्टीमा औपचारिक रुपमा छलफल भइनसकेको बताउनुभयो ।
पूर्वपरराष्ट्रमन्त्रीसमेत रहनुभएका श्रेष्ठले बीआरआई कार्यान्वयन फ्रेमवर्कमा भएको सहमतिलाई सकारात्मक बताउँदै अब कार्यान्वयनमा जोड दिनुपर्ने धारणा राख्नुभयो ।
सरकारको ५ महिनाका कामको समीक्षा गर्दै श्रेष्ठले सरकारले एक दुईवटा साना तिना कामबाहेक ठोस प्रगति देखिने कुनै काम गर्न नसकेको टिप्पणी गर्नुभयो ।
कार्यक्रममा श्रेष्ठ गृहमन्त्री रहँदा भ्रष्टाचार र अनियमितताका ठूला काण्डहरुमा सरकारले गरेको काम, सफलता र असफलतालगायत विषयमा पनि कुरा गरिएको छ ।
कार्यक्रम आज राति ९ बजे कान्तिपुर टेलिभिजनमा प्रसारण हुनेछ । साथै कान्तिपुर टेलिभिजनको युट्युब च्यानल र कान्तिपुर टिभी एपमा पनि हेर्न सकिनेछ ।