सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेसहित ५१ जनाबाट डेढ अर्ब असुल गर्नुपर्ने प्रहरीको राय

कास्की । कास्की प्रहरीले पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

५१ प्रतिवादीमध्ये ३७ जना फरार छन् । प्रहरीले उनीहरुबाट एक अर्ब ५१ करोड ४० लाख १९ हजार १ सय ९४ रुपैयाँ बिगो असुल गर्नुपर्ने राय दिएको छ । प्रतिवादीहरूलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा चलाउनुपर्ने प्रहरीको राय बुझाएको छ ।

प्रतिवादीहरुमा सहकारीका सञ्चालक समितिका पदाधिकारी एवं सदस्यदेखि सहकारीको रकम अवैधानिक रुपमा लगानी भएका कम्पनीका सञ्चालकसम्म छन् । जसमा पूर्वडीआइजी छविलाल जोशीदेखि बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीसमेत छन् । नेपाली बागलुङ र पोखरामा रहेको इमेज सहकारीको बचत अपचलनको अभियोगमा पुर्पक्षका लागि बागलुङ कारागारमा थुनामा छन् ।

पूर्वडीआईजी जोशी असोज ६ र रास्वपा सभापति लामिछाने कात्तिक २ गते पक्राउ परेका थिए । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि ९० दिनको हदम्याद जोशी पक्राउ परेको मितिदेखि लागु हुँदा अब ४ दिनभित्र अदालतले अभियोगपत्र अदालतमा बुझाउनुपर्ने छ । प्रहरीद्वारा पेस भएको मिसिल सरकारी वकिल कार्यलयले अध्ययन गरेर अदालतमा मुद्दा चल्ने देखिए अभियोगपत्र दर्ता गर्छ ।

त्यसपछि भने थुनछेक बहस सुरु हुन्छ । थुनछेक बहसपछि हुने आदेशबमोजिम प्रतिवादिहरुलाई साधारण तारेखदेखि धरौटीसम्ममा छुट्न वा पुर्पक्षका लागि थुनामा पठाउन सक्ने ब्यवस्था छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement