संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न सिफारिस समिति असफल

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न सिफारिस समिति असफल

काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी सिफारिस गर्न बनेको समिति पदाधिकारी सिफारिस गर्न असफल भएको छ । 

सिफारिस समितिले आज एक विज्ञप्ति जारी गर्दै पदाधिकारी सिफारिस गर्न नसकेको जनाएको हो । समितिमा मत बाझिएपछि पदाधिकारी सिफारिस हुन नसकेको हो । 

समितिले अन्तिम बैठक राख्दै आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको जानकारी सरकारलाई गराएको छ । आयोगमा सिफारिस हुनुपर्ने व्यक्तिबारे संयोजक ओमप्रकाश मिश्र र अन्य सदस्यबीचमा सहमति जुट्न नसकेपछि बहुमत र अल्पमतमा जानु उपयुक्त नहुने भन्दै सिफारिस गर्न नसकेको जानकारी सरकारलाई गराउने निर्णय समितिले गरेको हो । 

समितिका प्रवक्ता खम्मबहादुर खातीले मानवअधिकारसँग सम्बन्धित केही संघसंस्थाहरुले समेत अहिले सूचीमा रहेका व्यक्तिमाथि प्रश्न उठाएकाले उपयुक्त व्यक्ति खोजी गर्न सरकारलाई आग्रह गर्ने निर्णय गरेको बताउनुभयो ।

समितिले शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन पनि आयोगमा चाहिने थप व्यक्ति खोज्न सरकारलाई सुझाव दिएको छ । समितिले सिफारिस गर्न नसक्नुको मुख्य कारण चाहिँ भागबन्डा नमिल्नु भएको बताइएको छ ।

यसअघि समितिमा १ सय ५६ जनाको आवेदन परेको थियो । तीमध्ये समितिले पहिलो चरणमा दुई अध्यक्षका लागि ८ सहित ३९ जनालाई सर्ट लिस्टमा छानेको थियो । सर्ट लिस्टमा परेकाहरुसँग समितिले अन्तर्वार्ता लिएर र कार्ययोजनासमेत माग गरेको थियो । 

तर सिफारिस गर्ने अन्तिम दिन समितिले कुनै पनि व्यक्तिको नाम टुंगो लगाउन नसकेको हो । सरकारले कात्तिकको पहिलो साता पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो । सिफारिस समितिले काम गर्न नसकेपछि सरकारले पुनः अर्को समिति गठन गर्नुपर्ने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement