सिरियामा १२ वर्षपछि टर्कीको दूतावास सञ्चालन

पुस १, २०८१ |कान्तिपुर टीभी संवाददाता
सिरियामा १२ वर्षपछि टर्कीको दूतावास सञ्चालन

काठमाडौं । सिरियामा १२ वर्षपछि टर्कीको दूतावास सञ्चालनमा आएको छ । सिरियामा विद्रोही सेना हयात तहरीर अल शाम्स–एचटीएसले बसद अल असादलाई सत्ताच्यूत गरेपछि पहिलो पटक सिरियास्थित टर्की दूतावासमा झन्डा फहराइएको हो ।

सिरियास्थित टर्की दूतावास सन् २०१२ मा बन्द भएको थियो । टर्कीका गुप्तचर विभाग प्रमुखले दमास्कस भ्रमण गरेपछि टर्की दूतावास सञ्चालनमा आएको बताइएको छ । यसैबीच सिरियामा नयाँ प्रशासनले रचनात्मक सन्देश प्रवाह गरेका कारण शासन गर्न मौका दिनुपर्ने टर्कीको भनाइ रहेको रोयटर्सले जनाएको छ ।

टर्कीका रक्षामन्त्री यासर गुलरले विद्रोही समूहले अनुरोध गरे आफूहरु सैन्य तालिम प्रदान गर्न तयार रहेको स्पष्ट पार्नुभएको छ । सन् २०१६ देखि अहिलेसम्म टर्कीले आफ्नो राष्ट्रिय सुरक्षामा खतरा रहेको उल्लेख गर्दै उत्तरी सिरियामा चारवटा सैन्य कारबाही सञ्चालन गरिसकेको छ ।

टर्कीले उत्तरपश्चिमी सिरियाको अफ्रिन, अजेज र जराब्लस र उत्तरपूर्वमा रस अल ऐन र तेल अब्याद लगायतका सहरमा सेना तैनाथ गर्ने अनुमान गरिएको छ । यस्तै टर्कीका विदेशमन्त्री हाकन फिदानले सिरियामा स्थिरता आएपछि टर्कीमा रहेका सिरियाली नागरिकहरु सिरिया फर्किन थालेको जानकारी दिनुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement