काठमाडौं । बीआरआई परियोजनाको फ्रेमवर्कमा नेपाल र चीनबीच हस्ताक्षर भएपछि सत्ता साझेदार दल नेपाली कांग्रेस झस्किएको छ । नेपाली कांग्रेसले बीआरआई परियोजना ऋणमासमेत अघि बढाउने गरी सम्झौता हुनु गलत भएको प्रतिक्रिया दिएको छ । यता प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले नेपाल र चीनबीच भएको सम्झौतालाई अपुरोको संज्ञा दिएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेस सुरुदेखि नै बीआरआई परियोजनाअन्तर्गत ऋण लिन नहुने पक्षमा थियो । कुनै पनि देशसँग अनुदान स्वीकार्ने तर ऋण लिन नहुने अडान कांग्रेसको थियो । तर प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा दुवै तरिकाको व्याख्या र अर्थ लाग्ने गरी बीआरआईको फ्रेमवर्कको सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यसैलाई लिएर सत्ताको प्रमुख घटक नेपाली कांग्रेस असन्तुष्ट देखिएको हो ।
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रले बीआरआईको फ्रेमवर्कको सम्झौतापत्रका विषयमा आधिकारिक धारणा सार्वजनिक गरेको छैन । यसअघि बीआरआईअन्तर्गतका परियोजना ऋणमा भए पनि स्विकार्नुपर्ने बताउँदै आएको माओवादी केन्द्रले अब समीक्षा गरेर आधिकारिक धारणा सार्वजनिक गर्ने जनाएको छ । तर अहिलेको सम्झौता अपुरो र अस्पष्ट खालको देखिएको उसको प्रतिक्रिया छ ।
त्यसो त प्रधानमन्त्री ओलीले चीनसँग ऋण लिने विषयमा कुनै सम्झौता नभएको बताउनुभएको छ । तर विज्ञहरुले प्रधानमन्त्रीको भ्रमणका क्रममा भएको दुईपक्षीय सम्झौतामा ऋण र अनुदान दुवै विषय समेटिएको बताउँछन् ।
चीनले सन् २०१४ बाट अगाडि बढाएको बीआरआई परियोजनामा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको थियो । तर परियोजना कार्यान्वयन सम्झौता नहुँदा नेपालमा बीआरआई परियोजना कार्यान्वयनमा आएका थिएनन् । अब प्रधानमन्त्रीको भ्रमणका क्रममा बीआरआई फ्रेमवर्कको सम्झौतापत्रमा हस्ताक्षर भए पनि फरक व्याख्या हुन थालेकाले कार्यान्वयन कति सहज हुन्छ भन्न सकिने अवस्था देखिँदैन ।