काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण फलदायी हुने दाबी गर्नुभएको छ ।
चीन भ्रमणको विषयमा बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई)परियोजनालाई लिएर विभिन्न अड्कलबाजी भइरहेको भए पनि त्यो सत्य नरहेको बताउनुभएको हो । भ्रमणका क्रममा विभिन्न परियोजनाबारे औपचारिक छलफलहरु जारी रहेको उल्लेख गर्दै बीआरआई परियोजनाबारे अहिले नै बोल्नु गलत हुने बताउनु भयो ।
उहाँले बीआरआई परियोजनाबारे जोइन्ट स्टेटमेन्ट आएपछि मात्र सबै कुराको जानकारी पाइने बताउनु भयो । उहाँले बीआरआई परियोजना राष्ट्रिय स्वार्थको विषय भएकाले अग्राधिकार दिएर अघि बढ्ने कुरामा नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमतिको दस्तावेज तयार भएको बताउनु भयो ।
उहाँले बीआरआईलाई लिएर कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने भ्रम फैल्याइए पनि आफूहरु सहमतिमै अघि बढेको जिकिर गर्नुभयो ।
‘बीआरआईलाई हेर्ने सन्दर्भमा बाहिर अनेक ढंगले अड्कलबाजीहरु भइरहेका थिए । बीआरआईका सम्बन्धमा कांग्रेस नकारात्मक र एमाले सकारात्मक छ भन्ने ढंगले पनि कुराहरु बाहिर आइरहेका थिए,' उहाँले भन्नुभयो, 'त्यस्तो होइन हामी राष्ट्रिय स्वार्थको विषयलाई अग्राधिकार दिएर अगाडि बढ्छौं कांग्रेस र एमालेले नेपालको राष्ट्रिय राजनीतिमा नयाँ खालको सहमतिको दृष्टान्त हो स्थापित गरेका छौं ।'
उहाँले थप्नुभयो, 'हाम्रा प्रधानमन्त्रीको समकक्षी चिनियाँ प्रधानमन्त्री र राष्ट्रपतिसँग पनि भेट भइसकेको जानकारी हामीले पाएका छौं । थप विवरण त भोलि जोइन्ट स्टेटमेन्ट आउँला त्यसमा आउनेछन् । हाम्रो पारस्परिक समझदारीमा बनेको तयारीका आधारमा कुराहरु भएका छन् । कुराहरु फलदायी ढंगले भएका छन् ।’
उहाँले प्रधानमन्त्रीको पहिलो भ्रमण आवश्यकताको आधारमा जुनसुकै मित्रराष्ट्रको हुनसक्ने कुरामा कांग्रेस र एमालेबीच एकमत रहेको उल्लेख गर्दै यसलाई अन्यथा लिन नहुने बताउनु भयो ।