काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूले प्रधानमन्त्रीको प्रस्ताव नगरेको दाबी गर्नुभएको छ ।
ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आज आयोजित एक कार्यक्रममा अध्यक्ष दाहालले कांग्रेस महामन्त्री गगन थापाले भने जस्तो आफूले कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री बन्न आग्रह नगरेको बताउनुभएको हो । दाहालले कांग्रेस महामन्त्री थापाले सार्वजनिक गर्नुभएको अभिव्यक्तिको आलोचना गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सत्ता परिवर्तनको कुरा अघि बढाएको कुरा बिल्कुल होइन । योभन्दा सफेद झुट अरु केही हुनै सक्दैन । गगन थापालाई मैले एउटा युवा नेताको रुपमा उहाँसँग धेरै संवाद, सहकार्य हुने गर्दथ्यो । अहिले केही महिनाभित्रै उहाँमा आएको परिवर्तन र उहाँले यति तल झरेर हुँदै नभएको झुटो कुरा जनतासँग बोलेको देख्दा गगनजीप्रति मलाई साँच्चै दया लागेको छ ।'
अध्यक्ष दाहालले कांग्रेस र एमालेको सरकार परिवर्तन गर्ने खेलमा आफू नरहेको भन्दै प्रतिपक्षमा बसेर २०८४ सम्म सरकारलाई खबरदारी गर्ने बताउनुभयो ।