प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

मंसिर १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओलीको भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री राणा चीन प्रस्थान

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण तयारीका लागि एजेन्डा तय गर्न परराष्ट्रमन्त्री आरजु राणा देउवा चीन प्रस्थान गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले यही मंसिर १७ गतेदेखि गर्नुहुने चीन भ्रमणको एजेन्डा तय गर्न परराष्ट्रमन्त्री राणा चीन जानुभएको हो । परराष्ट्रमन्त्री राणाले त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीको भ्रमण तयारीका चीन जान लागेको बताउनुभयो । राणाले प्रधानमन्त्री ओलीको भ्रमणका क्रममा चीनसँग अनुदान सहयोगमा मात्र सम्झौता हुने पनि बताउनुभयो ।

तीन दिने चीन भ्रमणका क्रममा परराष्ट्रमन्त्री राणालले भोलि चिनियाँ विदेशमन्त्री वाङ यीसँग छेङ्दुमा भेटवार्ता गर्नुहुनेछ । भेटवार्तामा राणा र चिनियाँ विदेशमन्त्री वाङबीच प्रधानमन्त्री ओलीको पाँच दिने चीन भ्रमणको एजेन्डाका विषयमा छलफल हुनेछ । प्रधानमन्त्री ओलीको चीन भ्रमणमा चिनियाँ सरकारको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनाअन्तर्गतका विकासका योजनाहरु सहुलियत ऋणमा लिने कि अनुदानमा भन्ने विषयमा सत्तारुढ दल नेपाली कांग्रेस र एमालेबीच समान धारणा बन्न सकिरहेको छैन ।

प्रधानमन्त्रीको चीन भ्रमणका बेला चीनले पठाएका बीआरआईअन्तर्गतका सम्भावित परियोजनाका विषयमा सत्तागठबन्धन दल कांग्रेस र एमालेबीच भएका गृहकार्यको जवाफ लिएर राणा चीन प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्री ओली आगामी सोमबार ४५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा जाँदै हुनुहुन्छ । भ्रमण टोलीमा निजी क्षेत्रका व्यापारीको समूह पनि सहभागी हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement