सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी छान्न सरोकारवालासँग परामर्श हुने

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्य निरुपण तथा बेपत्ता आयोगमा पदाधिकारी छान्न सरोकारवालासँग परामर्श हुने

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको अध्यक्ष तथा सदस्य नियुक्त गर्न आवेदन आह्वान गरेको सिफारिस समितिले सरोकारवालासँग छलफल गरेर अगाडि जाने निर्णय गरेको छ ।

आन्तरिक कार्यविधि पारित गर्दै आवेदनका लागि सूचना प्रकाशित गरेको समितिले कुनै पनि विवाद नहुने गरी अगाडि बढ्नका लागि अबको चरणमा अन्तर्क्रिया गर्ने निर्णय गरेको हो । समितिले कुनै पनि क्षेत्रमा विवाद नदेखिने, राजनीतिक दलसँग आबद्ध नभएको र सर्वस्वीकार्य व्यक्तिको खोजिका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले आयोगमा अध्यक्षसहित पाँच सदस्यको सिफारिस गर्नेछ । जसमा कम्तीमा एक जना महिला अनिवार्य हुनुपर्ने भनिएको छ ।

अध्यक्ष तथा सदस्य बन्न मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको, कुनै पनि राजनीतिक दलको सदस्य नरहेको र उच्च नैतिक चरित्र भएको व्यक्ति हुनुपर्ने उल्लेख गरिएको छ ।

यस्तै, मानवअधिकार, शान्ति, द्वन्द्व व्यवस्थापन वा समाजशास्त्रको क्षेत्रमा काम गरेको, ३५ वर्ष उमेर पूरा भएको लगायतका योग्यता तोकिएको छ । अध्यक्षको हकमा सर्वोच्च अदालतको न्यायाधीश वा पुनरावेदन अदालतको मुख्य न्यायाधीश भइसकेको, नेपाल न्याय सेवाको विशिष्ट श्रेणीको पदमा काम गरिसकेको वा सर्वोच्च अदालतको न्यायाधीश हुने योग्यता भएको हुनुपर्ने उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement