कोशीका निवर्तमानमन्त्री लीलाबल्लभ अधिकारीमाथि मानव तस्करीमा अनुसन्धान गर्न दबाब

मन्त्री अधिकारी र तीन अनधिकृत व्यक्ति काठमाडौंबाटै एकसाथ जापान गएको खुलासा
कार्तिक २२, २०८१ |रमेश धमला
कोशीका निवर्तमानमन्त्री लीलाबल्लभ अधिकारीमाथि मानव तस्करीमा अनुसन्धान गर्न दबाब

काठमाडौं । कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी जापान जाँदा अन्य तीन जना पनि काठमाडौंबाटै सँगै गएको खुलासा भएको छ । अधिकारीले आफूसँगै जापान पुगेका तीन जनालाई हङकङमा भेटेको दाबी गरे पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रेकर्डले चारै जना एउटै जहाजमा गएको देखाएको हो । उनीहरुमाथि शंका लागेपछि जापानको अध्यागमन कार्यालयले विमानस्थलबाटै फिर्ता गरिदिएको थियो । यसले निवर्तमान मन्त्री अधिकारीमाथि मानव तस्करीमा अनुसन्धान गर्नुपर्ने देखिएको हो ।

कोशी प्रदेशका निर्वतमान आन्तरिक मामिला तथा मन्त्री लीलाबल्लभ अधिकारीले जापान जाने क्रममा अन्य तीन जनालाई पनि सँगै लिएर गएको खुलेको छ । बुधबार पत्रकार सम्मेलनमा अधिकारीले आफूले अन्य तीन जनालाई हङकङ विमानस्थलमा भेटेको दाबी गरे पनि चारैजना एउटै उडानबाट गएको खुलेको हो । त्रिभुवन विमानस्थल स्रोतका अनुसार अक्टोबर २७ मा चारै जना फरक-फरक समय पारेर विमानस्थल प्रवेश गरे । तर उनीहरु क्याथेप्यासेफिककै एउटै उडानमा हङ्कङ् हुँदै जापान पुगेको खुलेको हो ।

खोटाङ ऐंसेलुखर्क गाउँपालिकाको वडा सदस्य परिचयपत्र बनाएका दावा शेर्पाले २७ तारिखमा राति करिब ८ बजेर १६ मिनेटमा अध्यागमन पार गरेको देखिएको छ । आन्तरिक मामिला मन्त्रालयको सहायक पदको परिचयपत्र बनाएका जनक राई र नुवाकोटका कन्चन देवकोटाले एकै साथ अध्यागमन पार गरेका थिए । विमानस्थल स्रोतका अनुसार मन्त्री अधिकारी भने करिब साढे ६ बजे नै पुगेका थिए । जाने टिकट, उड्ने जहाज र समय एउटै बनाएर मन्त्रालयको परिचयपत्रसमेत बोकेका व्यक्तिहरु मन्त्रीसँगै देखिएकाले हङकङमा भेटेको भन्नु गलत भएको अनुसन्धानमा संलग्न एक अधिकृतले बताए ।

२७ तारिखमा नेपालबाट उडान गरे पनि मन्त्रीसहित सबैलाई जापान अध्यागमनले नियन्त्रणमा लिएर ३० तारिखमा मात्रै फिर्ता गरिदिएको थियो । ४८ घण्टासम्म विमानस्थलमै नियन्त्रणमा राखेर फिर्ता गरिएकालाई जुन जहाजमा गएको हो, त्यसैमा फर्काइएको थियो । जापान अध्यागमनले नेपालको अध्यागमन कार्यालयलाई उनीहरुलाई फिर्ता गर्नुको कारण खुलाएरै पत्र लेखेको छ । पत्रमा मन्त्री अधिकारी र अन्य ३ जना जापान सँगै पुग्नु, अधिकारी सहभागि हुने तय भएको कार्यक्रम र साथमा रहेकाहरुको जापानमा तय कार्यक्रमबीच तालमेल नभएकाले शंस्कास्पद देखिएको पत्रमा खुलाइएको स्रोतको भनाइ छ ।

अधिकारीसँगै जापान पुग्ने तीन जना १५ दिनको भ्रमण भिसा लिएर गएका थिए । उनीहरुको भ्रमण भिसा रद्द गरे पनि कार्यक्रममा गएका भनिएका मन्त्रीलाई पनि सँगै फर्काउनुले मानव तस्करीमा साथ दिएको देखिएकाले अनुसन्धान गर्नुपर्ने प्रहरी अधिकृतहरुको बुझाइ छ ।

नक्कली परिचयपत्र बनाइदिएको आरोपमा प्रहरीले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । यो समूहले जापानमा मानव तस्करीको ठूलै सञ्जाल चलाएको हुन सक्ने भएकाले विस्तृत अनुसन्धान गर्नुपर्ने दबाब बढेको हो । मन्त्रीसँगै गएर फिर्ता गरिएकाहरुले कति पैसा कसलाई बुझाएका थिए भन्ने अझै खुलेको छैन । पक्राउ परेकाहरुसँग बयान लिएपछि मात्र यसको तथ्य खुल्ने छ । तर आन्तरिक मामिलामन्त्री जाने कार्यक्रममा बाहिरका व्यक्ति सँगै जानु नै अनुसन्धानको विषय बनेको हो ।


Image

रमेश धमला

धमला कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement