एमालेले जग्गा दान लिनु राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रथम दृष्टिमै गलत भन्दै सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

जग्गा होटेल भाटभटेनीका नाममा बल्ल नामसारी
कार्तिक १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
एमालेले जग्गा दान लिनु राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रथम दृष्टिमै गलत भन्दै सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिका- २ मैत्रीनगरमा नेकपा एमालेको केन्द्रीय कार्यालय बनाउन व्यवसायी मीनबहादुर गुरुङले दान दिएको भनिएको १० रोपनी १४ आना जग्गा बल्ल उहाँको नाममा नामसारी भएको छ । यहीबीचमा सर्वोच्च अदालतले आज अल्पकालीन अन्तरिम आदेश जारी गर्दै जग्गा कारोबार यथास्थितिमा राख्न आदेश दिएको हो ।

व्यवसायी मीनबहादुर गुरुङले दान दिएको तथा भवनसमेत बनाइदिने भनिएको जग्गा  होटेल भाटभटेनी प्राइभेट लिमिटेडका नाममा राजीनामा पास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी गुरुङले शिलान्यास गरेको कीर्तिपुर नगरपालिका बडा नम्बर २ मैत्रीनगरमा रहेको जग्गा व्यवसायी कालु गुरुङको कम्पनी रोड शो रियल स्टेट प्रालिको नाममा थियो । 

त्यो जग्गा यही कात्तिक ८ गते मात्रै  मीनबहादुर गुरुङको कम्पनी भाटभटेनी होटेल प्रालिको नाममा नामसारी भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर २ अन्तर्गत कलंकी मालपोत कार्यालय सिटरोल नम्बर १०२-११४१-२४ को कित्ता नम्बर ३१३, ३१७, २५७, २५८, ७५, २८०, ६७६, ६९१ गरी ९ कित्ता जग्गा रोड शो रियल स्टेटबाट होटेल भाटभटेनी प्रालिको नाममा आएको हो । 

९ कित्तामा रहेको साढे ३ रोपनी जग्गा १४ करोड २५ लाख रुपैयाँमा कारोबार भएको छ । यो स्थानको जग्गा सरकारी दरअनुसार आनाको ७ लाख ९० हजार छ । तर बजारमा प्रतिआना ५० लाखभन्दा बढीमा कारोबार चल्ने गरेको जग्गा व्यवसायी बताउँछन् । गुरुङले यो स्थानमा प्रकाश महर्जनबाट पनि ५ आना जग्गा १ करोड २५ लाखमा किनेका छन् । 

उक्त जग्गा कालु गुरुङले २०७७ सालमा वनवरीप्रसाद शाह, प्रमिला शाह र उध्येश्वरलाल श्रेष्ठसँग ९ कित्तामा रहेको ४ रोपनी जग्गा १३ करोड ४४ लाख १० हजारमा किनेका थिए । तर अहिले यही जग्गा जम्मा १४ करोडमा २५ लाखमा मात्र कारोबार भएको देखिन्छ । अर्को कुरा प्रचारमा आएजस्तो यो ठाउँमा १० रोपनी १४ जग्गा छैन । न त १० रोपनी जग्गा मीनबहादुरको गुरुङको नाममा छ न कालु गुरुङको नाममा नै छ । 

अब गुरुङले भनेजस्तै १० रोपनी १४ आना जग्गा कसरी उपलब्ध हुन भन्ने प्रश्न उठेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.