जग्गा दानको विरोधमा बोलेका आफ्नै नेतामाथि ओलीको आक्रोश, यी तीन नेतालाई सोधिँदै छ स्पष्टीकरण

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जग्गा दानको विरोधमा बोलेका आफ्नै नेतामाथि ओलीको आक्रोश, यी तीन नेतालाई सोधिँदै छ स्पष्टीकरण

काठमाडौं । सत्तारुढ नेकपा एमालेले विवादित व्यापारी मीनबहादुर गुरुङबाट जग्गा लिने निर्णयको विरोधमा अभिव्यक्ति दिने नेताहरुमाथि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकले स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनीहरुले विवादित व्यापारी गुरुङले दान दिएको भनिएको १० रोपनीभन्दा धेरै जग्गा लिनु गलत भन्दै निर्णय फिर्ता लिन सार्वजनिक आग्रह गरेका थिए ।

यस्तै पार्टीको हितविपरीत बोल्दै आएको आरोपमा पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको छ ।

एमालेले सहकारी समस्या समाधान गर्न गठित संसदीय विषेश छानबिन समितिको प्रतिवेदनले कारबाहीका लागि सिफारिस गरेका जो कोही पनि छानबिनको प्रकृयामा आउनु पर्ने बताएको छ ।

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा आज बसेको सचिवालय बैठकपछि महासचिव शंकर पोखरेलले प्रतिवेदनमा नाम इंगित भएकाहरुले छानबिनमा सहयोग पुर्‍याउनु पर्ने जिकिर गर्नु भयो । छानबिनले जे ठहर गर्छ त्यसै अनुसार प्रकृया सुरु हुने र एमालेको दृष्टिकोण अमूक व्यक्तिलाई कारबाही गर्नु पर्ने वा सफाइ दिनु पर्छ भन्ने नरहेको उहाँले बताउँनु भयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.