जिल्ला अदालत कास्कीमा उपस्थित हुनुअघि रवि लामिछानेको प्रतिक्रिया : न्यायालयमाथि विश्वास छ

कार्तिक ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
जिल्ला अदालत कास्कीमा उपस्थित हुनुअघि रवि लामिछानेको प्रतिक्रिया : न्यायालयमाथि विश्वास छ

काठमाडौं । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आफू न्यायालयलाई सघाउन आएको बताउनु भएको छ । 

शुक्राबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको छ । अदालतमा उपस्थित हुनुअघि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लामिछानेले सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गर्नुभयो । उहाँले आफूलाई अदालतमाथि विश्वास रहेको बताउँदै न्यायालयलाई सघाउन आएको दाबी गर्नु भयो ।

प्रहरीले म्याद थपका लागि लामिछानेलाई अदालतमा उपस्थित गराएको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताउनुभयो । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो। उहाँलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा पुर्‍याइएको थियो ।

लामिछानेलाई गोर्खा मिडियाको सञ्चालक र प्रबन्ध निर्देशक रहँदा पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन गरेको आरोपमा म्याद थपेर अनुसन्धान गर्ने र पुरक मुद्दा लैजाने प्रहरीको तयारी छ । हिजो सार्वजनिक बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेश गराइएको हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.