डेंगी संक्रमण दोहोरिने बिरामीको संख्या बढ्दै

कार्तिक ४, २०८१ |कृपाल गौतम
डेंगी संक्रमण दोहोरिने बिरामीको संख्या बढ्दै

काठमाडौं । देशको एक मात्र सरुवा रोग अस्पताल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगी संक्रमण दोहोरिने बिरामीको संख्या बढ्दै गएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको तथ्याङ्क अनुसार पुन डेंगी संक्रमण भएर आउने बिरामीको संख्या बढ्न थालेको हो । अस्पतालको तथ्याङ्कअनुसार भदौमा ३ सय १२ जनामा संक्रमण पुष्टि भएकोमा १६ प्रतिशत र असोजमा १२ सय ७३ जनामा डेंगी पुष्टि भएकोमा २ सय २२ जना अर्थात् करिब १८ मा दोहोर्‍याएर डेंगी संक्रमण भएको पाइएको हो ।

यस्तो संख्या अघिल्लो वर्ष ५ प्रतिशत मात्रै थियो । दोहोर्‍याएर डेंगी संक्रमण हुँदा बिरामीलाई थप जटिलता हुने चिकित्सक बताउँछन् ।

चिकित्सकका अनुसार डेंगीको ४ सेरोटाइप अर्थात प्रकार हुन्छन् । त्यस्मध्ये एउटाले संक्रमण भएमा फेरी त्यसैले संक्रमण गराउने सम्भावना न्यून हुन्छ । तर डेंगी लागेको करिब १८ महिनादेखि अर्को प्रकारको डेंगी लाग्ने सम्भावना बाँकी नै रहन्छ जसले जटिलता निम्याउँछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार यो वर्ष जनवरीदेखि अहिलेसम्म करिब २० हजारलाई संक्रमण देखिएकोमा ९ जनाको मृत्यु नै भइसकेको छ ।

पहाडी जिल्लामा कात्तिकसम्म संक्रमणको जोखिम भए पनि तराइमा भने थप केहि महिना जोखिम रहन सक्ने विज्ञको भनाइ छ ।

अहिले अस्पतालमा पुग्ने बिरामीमध्ये दीर्घ रोगी, रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरु तथा पहिले संक्रमण भएकाहरुमा बढि जटिलता देखिएको चिकित्सकहरु बताउँछन् ।


Image

कृपाल गौतम

गौतम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।