नेपाली युवालाई स्वदेश फर्किएर रोजगारका अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह

आश्विन ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नेपाली युवालाई स्वदेश फर्किएर रोजगारका अवसर सिर्जना गर्न प्रधानमन्त्री ओलीको आग्रह

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सिर्जना गर्न आग्रह गर्नुभएको छ ।

संयुक्त राष्ट्र संघको ७९औं महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वर्ल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा अघि सारिएको स्पष्ट पार्नुभयो ।

'नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा' विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाको मात्रै संख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै र्फकनेहरूको क्रम पनि बढेको स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना-साना उद्योग र 'स्टार्टअप'जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो । 

उहाँले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने संकल्प लिएको जानकारी दिनुभयो । 

नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक आफूसँग अरु कुनै इच्छा नभएको उहाँको भनाइ थियो । यसैगरी प्रधानमन्त्री ओलीले यूएसआईडी र यूनिसेफद्वारा आयोजित 'लिड फ्युचर पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट'लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो ।

उहाँले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसद्‍मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो । कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement