प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता

आश्विन ७, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच न्युयोर्कमा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभाका दौरान भएको साइडलाइन भेटवार्ता न्युयोर्क लोते प्यालेसमा भएको हो ।

चौथो पटक प्रधानमन्त्री भएपछि ओलीको भारतका प्रधानमन्त्री मोदीसँग पहिलो भेटवार्ता हो । यसअघि ओली पहिलो र दोस्रो पटक प्रधानमन्त्री हुँदा भारत भ्रमण गरेरै मोदीसँग भेटवार्ता गर्नुभएको हो । त्यस अवसरमा भारतका प्रधानमन्त्री मोदीले नेपालको छिट्टै भ्रमण गर्ने कुराकानी भएको भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री आरजु राणाले जानकारी दिनुभयो ।

बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रधानमन्त्री ओलीले भेटवार्ता राम्रो भएको उल्लेख गर्नुभयो । भेटवार्तामा नेपालको तर्फबाट प्रधानमन्त्री ओली, परराष्ट्रमन्त्री राणा, प्रधानमन्त्रीका राजनीतिक मामिला सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र न्युयोर्कस्थित राष्ट्रसंघका लागि स्थायी नियोगका प्रतिनिधि तथा राजदूत लोकबहादुर थापा, परराष्ट्रका सहसचिव तथा प्रवक्ता अमृतकुमार राई सहभागी हुनुहुन्थ्यो ।

भारतका तर्फबाट प्रधानमन्त्री मोदीसँगै विदेशमन्त्री एस जयशंकर र विदेश मन्त्रालयका सचिव विक्रम मिस्री लगायतको उपस्थिति रहेको थियो । दुई पक्षबीच करिब ४५ मिनेट वार्ता चलेको बताइएको छ ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओेली र भूटानका प्रधानमन्त्री दासो छिरिङ तोग्बेबीच पनि भेटवार्ता भएको छ । उहाँहरुबीच राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमा भेटवार्ता भएको हो ।

यस्तै राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगको कार्यालय, न्युयोर्कमै प्रधानमन्त्री ओेली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री शेख सबाह अल खलेद अल हमाद अल मुबारक अल सबाहबीच पनि भेटवार्ता भएको छ ।

प्रधानमन्त्री ओेलीसँग राष्ट्रसङ्घका मानव अधिकार उच्चायुक्त भोल्कर टर्कले पनि शिष्टाचार भेट गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement