सहकारी छानबिन समितिले सार्वजनिक गर्‍यो ११ सय २४ पेजको पूर्ण प्रतिवेदन

आश्विन ४, २०८१ |कान्तिपुर टीभी संवाददाता
 सहकारी छानबिन समितिले सार्वजनिक गर्‍यो ११ सय २४ पेजको पूर्ण प्रतिवेदन

काठमाडौं । सहकारीको रकम अपचलन सम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको छ । ११ सय २४ पृष्ठको प्रतिवेदनमा समितिले गरेका सम्पूर्ण कार्यको विवरणका साथै सुझाव र सिफारिस समेटिएका छन् ।

सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन आज सार्वजनिक भएको हो । संसद् सचिवालयले वेबसाइटमार्फत् प्रतिवेदन सार्वजनिक गरेको हो ।

प्रतिवेदनमा ६ वटा सहकारीबाट मात्रै पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया नेटवर्कमा २२ करोड ४६ लाख ३० हजार रुपैयाँ कानुनविपरित गएको उल्लेख छ । समितिले सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता र सहारा सहकारीबाट गोर्खा मिडियामा कानुन विपरीत रकम गएको जनाएको हो । गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईले उक्त पैसा मिडियामा लगेका हुन् । 

राईले विभिन्न आफन्तको नाममा प्रचलित सहकारी कानुन विपरीत ऋण तथा पेस्की गरी जम्मा २ अर्ब ५८ करोड बराबरको रकम पठाई अपचलन भएको ठहरसमितिले गरेको छ । प्रतिवेदन अनुसार ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा राईले जम्मा गरेका हुन् । 

त्यसमध्ये २२ करोड ४६ लाख ३० हजार सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको देखिएको छ । त्यस्तै ४३ करोड ७ लाख ७४ हजार ५३८ विभिन्न व्यक्तिका नाममा ऋण देखाई रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको देखिएको छ । 

प्रतिवेदन अनुसार जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको शेयर पुँजीवापत जम्मा गरिएको र ८ करोड २० लाख ९१ हजार ६४३ जीबी राई स्वयम्ले प्रयोग गरेको उल्लेख छ ।

पछि रवि लामिछाने समेतले गोर्खा मिडिया छाडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले २०७९ असार ३० मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिएको समेत प्रतिवेदनले ठहर गरेको छ ।

संसदीय छानबिन विशेष समितिले गत भदौ ३१ गते संसद्लाई प्रतिवेदन बुझाएको थियो । लगत्तै सभामुखले प्रतिवेदन सरकारलाई हस्तान्तरण गर्न संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो । गत बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

हेर्नोस् समितिले तयार पारेको ११ सय २४ पृष्ठको पूर्ण प्रतिवेदन


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement