बेरुत हमलामा हिजबुल्लाह कमाण्डर इब्राहिम अकिल मारिएको इजरायलको दाबी

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
बेरुत हमलामा हिजबुल्लाह कमाण्डर इब्राहिम अकिल मारिएको इजरायलको दाबी

काठमाडौं । इजरायली सेनाले लेबनानको राजधानी बेरुतमा आक्रमण गर्दा हिजबुल्लाह कमाण्डर इब्राहिम अकिल मारिएको पुष्टि गरेको छ।

हिजबुल्लाहले उत्तरी इजरायललक्षित एक सयभन्दा बढी रकेट प्रहार गरे लगत्तै जवाफी कारवाहीमा इजरायली सेनाले बेरूतमा हिजबुल्लाहलाई निशाना बनाएर आक्रमण गर्दा कमाण्डर इब्राहिम अकिल मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इजरायली हमलामा अरू १४ जनाको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको जनाएको छ। उक्त आक्रमणमा ६६ जना घाइते भएका छन् ।

इजरायल डिफेन्स फोर्स आईडीएफ का प्रवक्ता ड्यानियल हगारीले बेरुतमा भएको हमलामा हिजबुल्लाह कमाण्डर इब्राहिम अकिलसहित हिजबुल्लाहको रडवान इकाईका शीर्ष सदस्यहरू पनि मारिएको दाबी गर्नुभएको छ ।

आक्रमणमा आवासीय भवनहरुसमेत ध्वस्त भएका छन् । यो वर्ष बेरुतमा इजरायलको तेस्रो आक्रमण हो ।

यसै साता लेबनानमा आफ्ना सदस्यहरूको पेजर र वाकी-टकीमा विस्फोटका कारण ३७ जनाको मृत्यु भएपछि हिजबुल्लाहले यसका लागि इजरायललाई जिम्मेवार ठहर गरेको छ ।

इरान समर्थित समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहले गत बिहीबार सम्बोधन गर्दै आक्रमणको बदला लिने वाचा गरेपछि दुवै पक्षबीच द्वन्द्व बढेको हो । जसकारण मध्यपूर्व तनावग्रस्त छ ।

यसैबीच अन्तर्राष्ट्रिय समूदायले मध्यपूर्वमा युद्ध रोक्न सम्बन्धीत पक्षलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement