आईसीसी विश्वकप लिग २ मा क्यानडाको लगातार दोस्रो जित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आईसीसी विश्वकप लिग २ मा क्यानडाको लगातार दोस्रो जित

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा ओमानलाई पराजित गर्दै क्यानडाले लगातार दोस्रो जित दर्ता गरेको छ । क्यानडाले नेपाल र ओमान सम्मिलित त्रिकोणात्मक सिरिजमा लगातार दोस्रो जित हासिल गरेको हो ।

किङ्स सिटीमा घरेलु टोली क्यानडाले ओमानलाई ५९ रन अन्तरले पराजित गर्‍यो । पहिलो खेलमा क्यानडाले नेपाललाई १ सय ३ रनको फराकिलो अन्तरले हराएको थियो । सिरिजमा ओमानको यो पहिलो हार हो । मध्यपूर्वी टोलीले आफ्नो पहिलो खेलमा नेपाललाई १ विकेटले पराजित गरेको थियो ।

ओमानले टस जितेर पहिला फिल्डिङ रोजेपछि सुरुवातमा ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७८ रन बनाएको थियो । यसका परगट सिंहले ४२ रनको योगदान दिए । हर्ष ठाकर ९३ रनमा आउट भए । निकोलस किर्टनले ५७ रनको अर्धशतकीय इनिङ्स खेल्दा डिलोन हेलिगर ३७ रनमा नटआउट रहे। । ओमानका शकील अहमद, कलीमुल्लाह र फय्याज बटले समान २-२ विकेट लिए ।

जवाफमा ओमान ४६ ओभरमा २ सय १७ रनमा अल आउट भयो । उसका लागि जिसान महसूदले २७, आयान खानले ३०, मेहरान खानले ३७ रन बनाए । फय्याज बटले सर्वाधिक ४४ रन बनाए पनि हार टार्न सकेनन् । ओमानलाई रोक्न हेलिगरले ४ विकेट लिए । उनले नेपालविरुद्ध पनि ५ विकेट लिएका थिए । कलिम सानाको नममा २ विकेट रहृयो ।

जितसँगै लिग २ अंक तालिकामा क्यानडाले शीर्ष स्थानको नदरल्यान्ड्ससँगको अंक दूरी बराबरी गरेको छ । क्यानडाको १० खेल र नदरल्यान्ड्सको ८ खेलमा समान १२-१२ अंक छ । ओमान ६ खेलमा ५ अंकसहित छैटौं र नेपालको ६ खेलमा २ अंक छ ।

लिग २ अन्तर्गत गएराति सम्पन्न अर्को खेलमा युएईले नामिबियाविरुद्ध १ विकेटको जित हासिल गर्यो । लिग २ मा युएईको यो पहिलो जित हो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement