एकदिवसीय शृंखलामा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

आश्विन ५, २०८१ |कान्तिपुर टीभी संवाददाता
एकदिवसीय शृंखलामा दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानको ऐतिहासिक जित

काठमाडौं । दक्षिण अफ्रिकाविरुद्ध अफगानिस्तानले ऐतिहासिक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला जितेको छ ।

अफगानिस्तानले तीन खेलको ओडीआई सिरिज अन्तर्गत दोस्रो खेल १ सय ७७ रनको विशाल अन्तरले जित्दै एक खेल अघि नै सिरिज आफ्नो पक्षमा गरेको हो । सिरिजमा अफगान टोलीले २-० को अग्रता बनाएको छ । एकदिवसीय क्रिकेटमा अफगानिस्तानले रन अन्तरको आधारमा अहिलेसम्मकै ठूलो जित दर्ता गर्यो ।

अफगानिस्तानले आईसीसीका पूर्ण सदस्यविरुद्ध चौथो पटक एकदिवसीय सिरिज जितेको हो । यसअघि उसले बंगलादेश, जिम्बाब्वे र आयरल्यान्डविरुद्धको एकदिवसीय सिरिज जितेको थियो ।

शारजाह मैदानमा दक्षिण अफ्रिकाविरुद्ध ऐतिहासिक सिरिज दिलाउने क्रममा रहमानुल्लाह गुरबाजले शतक प्रहार गरे भने आफ्नो २६ औं जन्मदिनमा राशिद खानले दक्षिण अफ्रिकाका ५ ब्याटरलाई मैदान बाहिर पठाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ११ रन बनाएको थियो । उसका रहमानउल्लाह गुरबाजले १ सय ५ रनको इनिङ्स खेले । अजमातुल्लाह ओमरजाईले अविजित ८६ र रहमत शाहले ५० रन बनाए । दक्षिण अफ्रिकाका लुंगी एन्गिडी, नान्द्रे बर्गर, नकाबायोम्जी पिटर र एडेन मार्करामले १-१ विकेट लिए ।

जवाफमा ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३४ ओभर २ बलमा मा १ सय ३४ रनमै सीमित भयो । उसका कप्तान टेम्बा बाभुमाले सर्वाधक ३८ रन बनाए ।

टोनी डी जोरजी ३१ रनमा आउट भए । उसका ७ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । अफगानिस्तानलाई सिरिज जिताउन राशिद खान ९ ओभरमा १९ रन खर्च गरेर ५ विकेट हात पारे । नांगेलिया खरोटाको नाममा ४ विकेट रहृयो । यस सिरिजमा अफ्रिकी टोलीको ब्याटिङ प्रदर्शन निकै खराब रहृयो। पहिलो खेलमा दक्षिण अफ्रिकालाई १ सय ६ रनमा अलआउट गर्दै दक्षिण एसियाली टोलीले ४ विकेटको जित हासिल गरेको थियो। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि हुँदैछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement