संविधानका ९ वर्ष : मधेश प्रदेशमा असन्तुष्टि कायमै

आश्विन ३, २०८१ |अनिल मिश्र
संविधानका ९ वर्ष : मधेश प्रदेशमा असन्तुष्टि कायमै

जनकपुर । नागरिकको बलिदानी र लामो संघर्षपछि संघीयतासहितको लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था लागु भएको ९ वर्ष पूरा भएपनि मधेश प्रदेशमा असन्तुष्टि कायमै छ । यस वर्षपनि मधेश प्रदेशमा संविधान दिवस उत्साह र विरोधका बीच मनाइएको छ ।

मधेश प्रदेश सरकारले विभिन्न कार्यक्रमको आयोजन गरी ९औं संविधान दिवस मनाएको छ । संविधानका पक्षधरले विशेष उत्साहका साथ यो दिवस मनाएका छन् भने उपेक्षित र पीडित वर्गको माग अझै सम्बोधन हुन नसकेको भन्दै असन्तुष्टि जनाउनेहरूले संविधान विरुद्धको कार्यक्रम गरेका छन् । गृह, कानुन तथा सञ्चार मन्त्री राजकुमार लेखीको अध्यक्षता र मुख्यमन्त्री सतिशकुमार सिंहको प्रमुख आतिथ्यमा मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधी मिथिला सांस्कृतिक केन्द्रमा आयोजन गरेको भव्य समारोहमा जनमत, नेकपा एमाले र नेपाली कांग्रेसका मन्त्रीहरू सहभागी भएपनि सत्ता साझेदार लोसपाका मन्त्री भने कार्यक्रममा सहभागी भएनन् ।

प्रदेश सरकार स्थापना भएको सात वर्षको अवधिमा पहिलो पटक जनमत नेतृत्वको सरकारले संविधान दिवस यति भव्यताका साथ मनाएपनि लगातार ६ वर्ष मधेश सरकारको नेतृत्व गरेका जसपा नेपाल भने संविधान त्रुटिपूर्ण रहेको भन्दै सुरुदेखि नै मौन बस्दै आएका छन् ।

संविधान दिवसमा दलहरूले मधेशमा थरीथरी गतिविधि गरेका छन् । मधेश केन्द्रीत दलहरूले विरोध गरेका छन् भने प्रमुख राजनीतिक दलहरू उत्सव मनाएका छन् । तर संघीय र मधेश सरकारमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टी र तराईमधेश लोकतान्त्रिक पार्टी भने विरोध जनाएका छन् ।

संघीय संरचना अनुसार बनेका तीनै तहका सरकार पहिलो कार्यकाल पूरा गरी दोस्रो कार्यकालको पनि दोस्रो वर्ष पूरा गर्नै लागेका छन् । तर, अर्थपूर्ण समावेशीकरण, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, बजेट बाँडफाँड, सत्तामा सहज पहुँच, पहिचान र सामर्थ्यका आधारमा प्रदेश किटान जस्ता विषयमा असन्तुष्टि कायमै छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।


Enter Kantipur TV HD
Advertisement