काठमाडौं । नेकपा एकीकृत समाजवादीभित्र महाधिवेशन र पदाधिकारी निर्वाचनबाट सुरु भएको असन्तुष्टि चर्कँदै गएपछि केही नेताहरु पार्टीका औपचारिक कार्यक्रममै उपस्थित हुन छाडेका छन् ।
पदाधिकारी निर्वाचनमा पराजय बेहोरेसँगै नेतृत्वबाट नै गुटको कसरत भएको आरोप लगाउँदै उनीहरु पार्टी गतिविधिबाट टाढिएका हुन् । नेताहरु रामकुमारी झाँक्री, प्रेम आले, किसान श्रेष्ठ, जीवनराम श्रेष्ठ, धनबहादुर बुढा र विरोध खतिवडा पार्टी गतिविधिबाट निष्क्रिय भएका छन् ।
उनीहरु पदाधिकारी निर्वाचनयताका पार्टीका महत्वपूर्ण बैठकहरुमा लगातार अनुपस्थित भएका हुन् । शुक्रबारको कार्यक्रममा पनि अध्यक्ष माधवकुमार नेपालले अब यस प्रकारको असन्तुष्टि पार्टीका लागि सह्य नहुने बताउनुभयो । उहाँले असन्तुष्टिका कुरा पार्टीभित्र आन्तरिक बैठक छलफलमा गर्न सकिने तर निर्वाचनमा पराजय हुनसाथ पटक-पटक असन्तोष व्यक्त गर्नु राम्रो नभएको बताउनुभयो ।
गत असारमा भएको पार्टीको महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित ९० केन्द्रीय सदस्यको टुंगो लाग्यो । बाँकी सहमतिमा चयन गर्ने भनिए पनि पदाधिकारीदेखि पोलिटव्युरोसम्म निर्वाचन भएको थियो । निर्वाचनमा महिला उपाध्यक्षमा उम्मेदवारी दिनुभएकी रामकुमारी झाँक्रीले पराजय बेहोर्नुभयो ।
झाँक्री आफूलाई हराउन नेतृत्व नै सक्रिय भएको आरोप लगाउँदै पार्टी गतिविधि टाढिनु भएको हो । उहाँ पुरानै पार्टी एमालेमा फर्कने या अन्य विकल्पबारे सोच्ने भन्ने विषयमा असन्तुष्ट नेताहरुसँग संवादमा रहनु भएको नेताहरुको भनाइ छ । यसअघि पुष्पकमल दाहाल नेतृत्व सरकारमा पार्टीले सरकारमा सहभागी नगराएपछि नेतृत्वप्रति असन्तुष्ट प्रेम आले र किसान श्रेष्ठ पार्टीको सम्पर्कमा नरहेको जनाइएको छ ।
तीमध्ये सांसद प्रेम आले केन्द्रीय सदस्यमा समेत अटाउनुभएको छैन । २ वर्षअघि पनि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारबाट मन्त्री फिर्ता बोलाउने विषयमा विवाद चर्किएपछि तत्कालीन पर्यटनमन्त्री आलेसहित ६ सांसदले पार्टी नेतृत्वविरुद्ध हस्ताक्षर नै गरेका थिए ।