सभापति देउवापछि कांग्रेसको नेतृत्व कसले गर्ने ?

आश्विन ३, २०८१ |प्रकाश बम
सभापति देउवापछि कांग्रेसको नेतृत्व कसले गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विधान बमोजिम अब आउने महाधिवेशनमा सभापति उम्मेदवार बन्न मिल्दैन । उहाँले विश्राम लिने घोषणासहित भावी नेतृत्वका लागि योग्य प्रमाणित गर्न आह्वान गरेपछि नेपाली कांग्रेसभित्र तरंग पैदा भएको छ । 

लगातार दोस्रो पटक पार्टीको नेतृत्व गरिरहनुभएका देउवाको कार्यकाल २०८२ मंसिरमा सकिँदैछ । कांग्रेसको विधानअनुसार लगातार दुई पटकभन्दा बढी सभापति बन्न पाइँदैन । सभापति देउवाले नेतृत्व हस्तान्तरणका लागि विश्वासपात्र खोजिरहनुभएको छ भने आकांक्षी नेताहरु विश्वास जित्ने कसरतमा लागेका छन् ।

पार्टी कार्यालय सानेपामा भदौ २७ गते आयोजित एक कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो उमेर र अन्य कारणले राजनीतिक विश्राम लिने बेला भएको घोषणा गर्नुभयो । त्यतिमात्रै नभएर उहाँले पार्टी निर्माणमा लागेर आफूलाई प्रमाणित गर्न पनि भोलि आउने नेताहरुलाई आह्वान समेत गर्नुभयो ।

सभापति देउवाको यो घोषणाले कांग्रेसभित्र नयाँ तरंग सिर्जना भएको छ । यो घोषणा सँगै विधान संशोधन गरेर वा अन्य कुनै पनि कारण देखाएर देउवा तेस्रो कार्यकालका लागि पनि प्रतिस्पर्धामा जानुहुन्छ कि भन्ने आशंका गर्नेहरुलाई जवाफ पनि दिएको छ । यसले देउवाको शुभेच्छा लिएर बागडोर सम्हाल्न पाइन्छ कि भन्ने अपेक्षा गरिरहेकाहरुलाई भने झस्काएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सभापतिले सभापतिका आकांक्षीलाई काम गरेर देखाउन भन्नुभएको बताउनुभयो । उहाँले भन्नुभयो,.'सभापतिले ज्यूले सबैलाई भन्नुभएको हो जो सभापति बन्ने आकांक्षी हुनुहुन्छ । विशेषगरी पदाधिकारीलाई हो । आकांक्षीले आफूलाई तयार गर्नुपर्यो काम गरेर देखाउनुपर्यो ।' 

२०८२ सालमा हुने कांग्रेसको महाधिवेशनबाट नेतृत्वमा जान चाहनेहरुको लर्को लामो छ । नेताहरु शेखर कोइराला, पूर्णबहादुर खड्का, गगन थापा, विमलेन्द्र निधी, शशांक कोइराला, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौलालगायतका नेता भावी नेतृत्वको दौडमा छन् । सभापतिको नजिकका भनेर चिनिएकाहरु अझै पनि देउवाले आफैंलाई उत्तराधिकारी घोषणा गरिदिए हुन्थ्यो भन्ने आशमा छन् । वैचारिक रुपमा फरक मत राख्ने नेताहरुसमेत देउवाको सदासयता पाउने झिनो आशा पालेर बसेका छन् ।

नेपाली कांग्रेसका नेता श्याकुमार घिमिरे कांग्रेसको नेतृत्व पाउनका लागि वर्तमान सभापतिको समर्थनले ठूलो अर्थ राख्ने बताउनुहुन्छ । 'स्वभाविक हो सभापतिको समर्थनले ठूलो अर्थ राख्छ,' उहाँले भन्नुभयो, 'साथ पाउदा जित सहज हुने बुझाइ सबैको हो । त्यसैले सभापतिलाई मनाउने प्रयास गरिरहनु भएको छ । तर सभापतिले न्युट्रल पनि बस्न सक्नुहुन्छ । कसैलाई समर्थन पनि गर्न सक्नुहन्छ ।'

त्यसो त उपसभापति खड्काले आफूलाई देउवाको उत्तराधिकारीको रूपमा प्रस्तुत गर्दै हिँडिरहनुभएको छ । १४ औँ महाधिवेशनमा सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधि अहिले देउवा समूहमै फर्किसक्नुभएको छ ।

उहाँहरु १५ औं महाधिवेशनमा देउवाकै समर्थन लिएर चुनावी मैदानमा जाने कसरतमा हुनुहुन्छ । देउवालाई मौन समर्थन गरिरहेका पूर्वमहामन्त्री शशांक कोइरालाले आफू प्रतिस्पर्धामा उत्रिए जित हासिल हुने सार्वजनिक घोषणा गरिसक्नुभएको छ । तर देउवाले कसैलाई पनि उत्तराधिकारी घोषणा नगरेकाले नेताहरुले आफूले आफैंलाई प्रमाणित गर्नुपर्ने छ ।

नेपाली कांग्रेस नेता शुशिला थिङ राजतन्त्रमा मात्रै उत्तराधिकारी हुने भन्दै प्रजातन्त्रमा नेताहरुले नेतृत्व गर्नका लागि आफूलाई योग्य प्रमाणित गर्नुपर्ने बताउनुहुन्छ । १४ औँ महाधिवेशनमा पराजित शेखर कोइराला जिल्ला-जिल्लामा पुगेर आफ्नो पक्षमा माहोल बनाउने प्रयास गरिरहनुभएको छ । महामन्त्री गगनकुमार थापाले पनि भावी सभापतिका रुपमा आफूलाई उभ्याउनुभएको छ । उहाँहरु दुवै जनाले अहिले सैद्धान्तिक विमति नदेखाइ सभापति देउवाको सहयोग कुरेर बसेको देखिन्छ ।

शेखर कोइरालामा, गगन थापा, शशांक कोइरालालगायत सभापतिको दाबेदार भएकाले उहाँहरुले सभापतिसँग राम्रो सम्बन्ध राख्न खोजीरहनुभएको नेता सञ्जय गौतम बताउनुहुन्छ । 

भदौ ७ गतेको केन्द्रीय समिति बैठकमा पूर्वउपसभापति विजयकुमार गच्छदारले सभापति देउवालाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिँदै बलबहादुर केसी, विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का वा आफूमध्ये कुनै एकलाई सभापति बनाउन आग्रह गर्नुभएको थियो । त्यो बैठकमा देउवाले नेतृत्व हस्तान्तरणको कुरै गर्नुभएको थिएन । तर अहिले नेतृत्वमा हानथाप भएपछि सभापति देउवाले बीचको बाटो रोजेको हुनसक्ने विश्लेषकको भनाइ छ । 

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य भन्नुहुन्छ, 'यतिधेरै आकांक्षी छन् । बाटो खोल्दैछु भनेपछि त स्वस्थ प्रतिस्पर्धाको लागि तयारी गर्नुपर्नेहुन्छ । त्यसकारण उहाँले विधानलाई पनि ख्याल राखेर भन्नुभएको हो । उहाँ यसै पनि उठ्न पाउनुहुन्न । धेरै आकांक्षी भएका कारण दबाब दिने भइरहेको पनि हुनसक्छ त्यसैले उहाँले तिमी आफैँ प्रतिस्पर्धा गर भनेर आफू न्युट्रल बस्ने खालको संकेत समेत गर्नुभयो । यो कांग्रेसका लागि निकै सुखत कुरा हो ।'

आफ्नो उत्तराधिकारी घोषणा नगरी मैदान खाली गर्ने अभिव्यक्ति दिएपछि कांग्रेसको नेतृत्व लिन चाहनेहरुले देउवालाई रिझाउन भरमग्दुर प्रयास थालेपछि कांग्रेसको नयाँ नेतृत्वको दौड रोमाञ्चक बनेको छ ।


Image

प्रकाश बम

बम कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement