आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

मुख्यमन्त्री केजरीवालले आज राजीनामा दिएसँगै आतिशीले प्रस्ताव राख्ने
आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्ने

काठमाडौं । आम आदमी पार्टी-आपकी नेतृ आतिशी मार्लेना दिल्लीको नयाँ मुख्यमन्त्री बन्नुहुने भएको छ । आम आदमी पार्टीको आज बसेको संसदीय दलको बैठकले अतिशीलाई दलको नेता चयन गरेको हो ।

दिल्ली सरकारका मन्त्री गोपाल राईका अनुसार आतिशीलाई सर्वसम्मत रुपमा मुख्यमन्त्रीका लागि दलको नेता चयन गरिएको हो । आतिशी अरबिन्द केजरीवाल नेतृत्वको सरकारमा अर्थमन्त्री हुनुहुन्छ । अब उहाँ दिल्लीको मुख्यमन्त्री बन्नुहुने छ । मुख्यमन्त्री बन्ने तय भए पनि आतिशीले आफू आगामी विधानसभा चुनाव सम्मका लागि मुख्यमन्त्री हुने दाबी गर्नुभएको छ ।

मदिरासम्बन्धी नीतिगत भ्रष्टाचार गरेको आरोपमा जेलमा परेका दिल्लीका मुख्यमन्त्री केजरिवालले धरौटीमा रिहा भएपछि पदबाट राजीनामा दिने घोषणा गर्नुभएको छ । केजरिवाल जेलमा रहेका बेला सरकारको महत्वपूर्ण जिम्मेवारी आतिशीले नै सम्हाल्नुभएको थियो ।

केजरीवालले जेलबाट निस्केपछि आपका कार्यकर्तालाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेदेखि नै यो पद कसले लिने भन्ने चर्चा चलेको थियो । आज भने पार्टीको बैठकले आतिशीलाई मुख्यमन्त्रीमा सर्वसम्मत चयन गरेको हो ।

मुख्यमन्त्री केजरीवालले आज उप-राज्यपाल वीके सक्सेनालाई आफ्नो राजीनामा बुझाउनु हुने छ भने नयाँ मुख्यमन्त्रीको प्रस्ताव पनि आजै राख्ने बताइएको छ ।

केजरीवालले जनताले आफूलाई क्लीनचिट नदिएसम्म आफू मुख्यमन्त्री नबन्ने बताउनुभएको थियो । उहाँले समयअगावै अर्थात् नोभेम्बरमै चुनाव गराउनुपर्ने मागसमेत गर्नुभएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement