लेबनानमा एकसाथ 'पेजर' विस्फोट हुँदा ९ जनाको मृत्यु्, २८ सय घाइते

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
लेबनानमा एकसाथ 'पेजर' विस्फोट हुँदा ९ जनाको मृत्यु्, २८ सय घाइते

काठमाडौं । लेबनानको विभिन्न स्थानमा 'मेसेज' अर्थात् सन्देश पठाउन प्रयोग हुने ‘पेजेर’ उपकरण एकसाथ विस्फोट हुँदा एक बालिकासहित ९ जनाको मृत्यु भएको छ । ज्यान गुमाउनेमा इरानसमर्थित हिजबुल्लाहका ८ जना सदस्य समेत रहेको बीबीसीले जनाएको छ ।

विस्फोटमा लेबनानका लागि इरानका राजदूत मुज्ताबा अमानी र हिजबुल्लाहका सदस्यहरुसहित २८ सय जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । घाइतेमध्ये दुई सय जनाको अवस्था गम्भीर रहेको बताइएको छ । इरानले समेत विस्फोटमा आफ्ना राजदूत घाइते भएको पुष्टि गरेको छ ।

हिजबुल्लाह समूहसँगै लेबनानका प्रधानमन्त्री नाजिब मिकातीले समेत उक्त घटनाको दोष इजरायललाई दिएको छ । एक विज्ञप्ति जारी गर्दै हिजबुल्लाह समूहले उक्त घटनाको दोषीलाई उचित सजाय दिने र प्यालेस्टिनी जनताको संघर्षलाई आफूहरुको पूर्ण समर्थन रहेको बताएको छ । इजरायलले भने उक्त विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।

लेबनानको राजधानी बेरुतदेखि बेका उपत्यकासहित छिमेकी देश सिरियाबाट पनि पेजर विस्फोटको खबर आएको बताइएको छ । यी विस्फोटहरूमध्ये धेरैजसो साना भए पनि केहीको नतिजा घातक साबित भएको बीबीसीले जनाएको छ ।

हिजबुल्लाहका अधिकारीहरुका अनुसार नयाँ प्रविधिको पेजेर पहिले अत्याधिक तातिएको र पछि विस्फोट हुन पुगेको हो । मिडिया रिपोर्ट अुनसार पेजर ह्याक अथवा ट्र्याक गरी ब्लास्ट गरिएको हो । यो पछिल्लो ११ महिनामा सबैभन्दा ठूलो सुरक्षा उल्लंघन भएको हिजबुल्लाहसँग सम्बद्ध व्यक्तिहरूलाई उदृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाले भने उक्त विस्फोटमा आफ्नो संलग्नता नरहेको स्पष्ट पार्दै इरानलाई उक्त विषयलाई भयावह नबाउन आग्रह गरेको रोयटर्सले जनाएको छ । इजारयल र हमाससमूहबीचको युद्ध सुरु भएसँगै हिजबुल्लाहले पनि इजरायलमाथि निरन्तर आक्रमण गरिरहेको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement