म्यानमारमा सैन्य ‘कू’ यता ५ हजार नागरिक मारिएको राष्ट्रसंघको तथ्यांक

बालबालिकासहित २७ हजार जनालाई पक्राउ गरेर हिरासतमा राखिएको
आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
म्यानमारमा सैन्य ‘कू’ यता ५ हजार नागरिक मारिएको राष्ट्रसंघको तथ्यांक

काठमाडौं । म्यानमारमा सन् २०२१ मा भएको सैन्य ‘कू’पछि त्यहाँको सेनाद्वारा सञ्चालित सरकारले हजारौँलाई आफ्नो हिरासतमा राखेको र त्यस अवधिदेखि अहिलेसम्म कम्तीमा ५ हजार जना मारिएको खुलासा भएको छ ।

मानवअधिकारका लागि संयुक्त राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालयद्वारा जारी गरिएको प्रतिवेदनले यस्तो तथ्यांक देखाएको हो । मानवअधिकार कार्यालयले तयार पारेको प्रतिवेदन आंशिक रूपमा सयौं पीडित र साक्षीहरूसँगको अन्तर्वार्तामा आधारित रहेको बताइएको छ।

मारिएको मध्ये कम्तीमा २ हजार ४ सय १४ जनाको मृत्यु अप्रिल २०२३ देखि जुन २०२४ सम्ममा भएको प्रतिवेदनले देखाएको छ । त्यस मध्ये सयौँ जना हवाई आक्रमणबाट मारिएको प्रतिवेदनमा उल्लेख छ ।

‘कू’पछि सेनाद्वारा करीब २७ हजार व्यक्तिहरूलाई गिरफ्तार गरी सैन्य परिक्षण केन्द्रमा राखिएको प्रतिवेदनले देखाएको छ । राष्ट्रसंघका अधिकारीले पक्राउ पर्नेमध्ये बालबालिकाहरू पनि रहेको स्पष्ट पारेका छन् । जसलाई अभिभावकविहीन भन्दै ‘राजनीतिक विरोधको सजायको रूपमा’ लगिएको बताइएको छ ।

त्यस्तै कार्यालयका प्रवक्ता लिज थ्रोसेलले प्रतिवेदन सार्वजनिक गर्ने क्रममा ८८ बालबालिकासहित कम्तीमा १ हजार ८ सय ५३ जनाको कुटपिटपछि हिरासतमै मृत्यु भएको बताउनुभएको छ । कतिपय मानिसहरु हिरासतमा अन्य दुर्व्यवहार वा पर्याप्त स्वास्थ्य सेवाको पहुँचलाई अस्वीकार गरेपछि मृत्यु भएको उहाँको भनाइ छ ।

आङ सान सुकीको निर्वाचित नागरिक सरकार अपदस्थ भएपछि राष्ट्रव्यापी रुपमा सडक विरोध चर्किएपछि सेनाले फेब्रुअरी २०२१ मा सत्ता आफ्नो हात लिएको थियो । म्यानमारमा अहिले पनि सशस्त्र द्वन्द्व जारी छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement