गाजा युद्धविरामसम्बन्धी वार्ता अघि बढाउन अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजिप्टको कायरोमा

इजिप्टका विदेशमन्त्री बद्र अब्देलातिसँग छलफल
आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
गाजा युद्धविरामसम्बन्धी वार्ता अघि बढाउन अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजिप्टको कायरोमा

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन, गाजा युद्धविराम र बन्धक रिहाइसम्बन्धी वार्ता पुन: अघि बढाउने पहल गर्न आज इजिप्टको राजधानी कायरो पुग्नु भएको छ ।

कायरोमा ब्लिन्केनले इजिप्टका विदेशमन्त्री बद्र अब्देलातिसँग भेटवार्ता गर्नुभएको छ । आजै उहाँले राष्ट्रपति अब्देल फतेह अल सीसीसँग भेट गर्ने कार्यक्रम छ । गाजा युद्धविराम सम्झौताका लागि अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा थुप्रै चरणका वार्ताभए पनि कुनै सहमति भने जुट्न सकेको छैन । अमेरिकी राष्ट्रपति जो बाइडनले अघि सारेको सम्झौता प्रस्तावमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले नयाँ शर्तहरु थपेका कारण अहिले वार्ता रोकिएको हो ।

युद्धविराम भएपछि पनि इजिप्ट र गाजाको सीमामा रहेको फिलाडेल्फी करिडोर इजरायली सेनाको नियन्त्रणमा रहनु पर्ने नेतन्याहुको सर्त मुख्य बाधकको रुपमा देखिएको छ । इजरायल हमास युद्ध शुरु भएयता मध्यपूर्वमा ब्लिन्केनको यो दशौं भ्रमण हो । तर यसपटक भने उहाँले इजरायलको भ्रमण नगर्ने बताइएको छ ।

गतवर्षको अक्टोबर सातदेखि सुरु भएको इजरायल हमास युद्धका क्रममा इजरायली आक्रमणमा गाजामा अहिलेसम्म ४१ हजारभन्दा बढी प्यालेष्टिनी मारिइसकेका छन् भने ९५ हजारभन्दा बढी घाइते भएका छन् । अक्टोबर ७ मा हमासले आश्चर्यजनक रुपमा दक्षिणी इजरायलमा आक्रमण गरी करिब १२ सयको ज्यान लिनुका साथै २५१ जनालाई बन्धक बनाएर लगेपछि इजरायल हमास ताजा युद्ध सुरु भएको हो ।

इजरायल र लेबनानको इरान समर्थित अर्धसैनिक समूह हिजबुल्लाहबीचको तनाव चर्केका बेला अमेरिकी विदेशमन्त्री ब्लिन्केन इजिप्ट पुग्नुभएको हो । हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको हजारौं पेजरहरुमा एक साथ विस्फोट भएर कम्तीमा ९ जनाको मृत्यु र करिब २८ सय मानिस घाइते भएको घटनाको केही घण्टापछि नै ब्लिन्केन कायरो पुग्नु भएको हो । हमासले सो विस्फोटका पछाडि इजरायलको हात रहेको आरोप लगाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement