जम्मु-कश्मिरमा १० वर्षपछि विधानसभा चुनाव हुँदै, आज पहिलो चरणको मतदान

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
जम्मु-कश्मिरमा १० वर्षपछि विधानसभा चुनाव हुँदै, आज पहिलो चरणको मतदान

काठमाडौं । भारतको जम्मु-कश्मीरमा १० वर्षपछि विधानसभा चुनाव हुँदैछ । केन्द्र सरकारले धारा, ३७० हटाएपछि पहिलो पटक जम्मु-कश्मिरमा विधानसभा चुनाव भइरहेको हो ।

विधानसभा चुनाव अन्तर्गत २४ सिटका लागि पहिलो चरणको मतदान आज बिहान ७ बजेबाट सुरु भएर साँझ ६ बजे सकिनेछ । आज कश्मिरको १६ र जम्मुको ८ विधानसभाका लागि मतदान भइरहेको हो ।

जम्मु-कश्मीर विधानसभा चुनावको पहिलो चरणमा २ सय १९ उम्मेदवार मैदानमा छन् ।

धारा, ३७० हटाएपछि पहिलो पटक हुन लागेको विधानसभा चुनावमा राजनीतिक दलसँगै मतदातामा पनि उत्तिकै उत्साह देखिएको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार केन्द्र शासित प्रदेशका ९० निर्वाचन क्षेत्रमा ८७ लाख ९ हजार मतदाता छन् । जसमध्ये ४२ लाख ६० हजार महिला छन् । यहाँ पहिलो पटक मतदान गर्ने युवा मतदाताको संख्या ३ लाख ७१ हजार छ भने २० देखि २९ वर्ष उमेर समूहका २० लाख ७ हजार मतदाता छन् ।

चुनावमा नेशनल कन्फ्रेन्स र भारतीय कांग्रेस मिलेर राज्यका सबै ९० सिटमा संयुक्त प्रतिस्पर्धा गरिरहेका छन् । उता भाजपा र पीडीपी यस चुनावी मैदानमा एक्लै ओर्लिएका छन् ।

आयोगका अनुसार जम्मु-कश्मीरमा ३ चरणमा मतदान हुनेछ । दोस्रो चरणका लागि सेप्टेम्बर २५ मा र तेस्रो तथा अन्तिम चरणका लागि अक्टोबर १ मा मतदान हुनेछ। मतदानको नतिजा अक्टोबर ८ मा घोषणा हुने निर्वाचन आयोगले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement