भारतको जम्मु कश्मीरमा १० वर्षपछि पहिलो चरणको विधानसभा निर्वाचन सम्पन्न

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
भारतको जम्मु कश्मीरमा १० वर्षपछि पहिलो चरणको विधानसभा निर्वाचन सम्पन्न

काठमाडौं । भारतको जम्मु कश्मीर प्रदेशमा एक दशकपछि आज पहिलो पटक विधानसभा निर्वाचनका लागि मतदान भएको छ ।

मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भएको र ५८ प्रतिशत भन्दाबढी मत खसेको भारतीय समाचार माध्यमले जनाएका छन् ।

जम्मु कश्मिरमा तीन चरणमा विधानसभा निर्वाचन भइरहेको हो । विधानसभाका ९० सिटमध्ये पहिलो चरणअन्तर्गत आज २४ सिटका लागि मतदान भएको हो । जम्मु कश्मिर राज्यमा पछिल्लो पटक सन् २०१४ मा विधानसभा निर्वाचन भएको थियो । सन् २०१९ मा केन्द्र सरकारले जम्मु कश्मिर राज्यलाई विषेश अधिकार प्रदान गर्ने संविधानको धारा ३७० र ३५ ए खारेज गरेको थियो ।

साथै यसलाई जम्मु-कश्मिर र लद्दाख गरी दुई केन्द्रशासित प्रदेशमा विभाजित गरेको थियो । जम्मुकश्मिर भारतको एकमात्र मुश्लिम बाहुल्य प्रदेश हो । ऐतिहासिक विशेष अधिकार खारेजीपछिको पहिलो निर्वाचन भएकाले यसलाई मोदी सरकारको निर्णयको माथिको जनमत संग्रहका रुपमा हेरिएको राजनीतिक विश्लेषकहरुले टिप्पणी गरेका छन् ।

धारा ३७० को अधिकार अन्तर्गत जम्मुकश्मिर राज्यको आफनो अलग्गै संविधान, र झण्डा हुनुका साथै स्थानिय वासिन्दाले मात्रै जग्गा जमिन किन्न पाउने लगायतका विशेष अधिकार प्राप्त थियो ।

दोस्रो र तेस्रो चरणको मतदान क्रमश २५ सेप्टेम्बर र अक्टोबर १ मा हुनेछ भने अक्टोबर ८ मा मतगणना गरिनेछ ।

जम्मु कश्मिर विधानसभामा बहुमत सिट जित्नकालागि १३ प्रमुख राजनीतिक दलबीच प्रतिष्पर्धा भैरहेकोछ । केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा रहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement