बहुमत नल्याउँदासम्म हामीमाथि प्रहार भइरहन्छ : रवि लामिछाने

आश्विन १, २०८१ |कान्तिपुर टीभी संवाददाता
बहुमत नल्याउँदासम्म हामीमाथि प्रहार भइरहन्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले रास्वपाले बहुमत ल्याएर देश नचलाउँदासम्म आफुहरुमाथि समस्या आइरहने बताउनुभएको छ ।

आजबाट काठमाडौंमा सुरु भएको पार्टीको केन्द्रीय परिषद्को प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफुहरुको आगमननै अरुका लागि समस्या भएको बताउनु भएको हो । सभापति लामिछानेले रास्वपाको लडाई ठूलो भएकाले आफुहरुमाथि पनि ठूलाठूला प्रहार हुने भन्दै पार्टीका नेता कार्यकर्तालाई सोही अनुरुप तयार रहन आह्वान गर्नुभएको छ ।

उहाँले पार्टी भित्र आएका केहि विवादहरु स्वभाविक रहेको बताउँदै पार्टीका शुभेच्छुकहरुलाई नआत्तिन समेत आग्रह गर्नुभएको छ । उहाँले २०७९ सालको चुनाव ८४ सालको चुनावका लागि दिएको निम्तो कार्ड मात्र भएको बताउनु भयो ।

उहाँले आफू सहकारी ठग नभएको संसदीय छानबिन विशेष समितिले प्रमाणित गरेको तर्क गर्नुभयो । यद्यपि समितिले तत्कालीन सञ्चालकको नाताले लामिछानेसहितका सञ्चालकहरुले जिम्मेवारी लिनुपर्ने भन्दै कारबाहीको सिफारिस गरेको छ । कार्यक्रममा उहाँले आफूलाई सहकारी ठग भन्न अब नमिल्ने भएपछि गोरखा मिडियातिर ध्यान केन्द्रित हुने बताउनु भयो । 

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाप्रति लक्षित गर्दै प्रमाण कस्तो हुन्छ भन्नेकुरा थाहा भयो ? भन्दै प्रश्न समेत गर्नुभयो । उहाँले प्रमाण छ भनेको नभइ महामन्त्री थापाले प्रणाम छ भनेको भन्दै आफूले पनि प्रणाम फर्काएको टिप्पणी गर्नुभयो ।

भेलामा देशभरबाट १ हजार ५ सय बढी प्रतिनिधि उपस्थिति रहेको बताइएको छ । भेलामा विचार, सङ्गठन, संसदीय मामिला, अभियान, विधान संशोधन लगायतका एजेन्डामा छलफल हुनेछ ।

पार्टी सभापति रवि लामिछानेबाट राजनीतिक प्रतिवेदन प्रस्तुत हुने समेत कार्यक्रम रहेको छ । राष्ट्रिय भेला बुधबारसम्म चल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement