गगनको प्रश्न- भित्र प्रतिवेदनमा हस्ताक्षर गर्ने बाहिर आएर क्लिन चिट भनेर छट्टु कुरा गर्ने ?

आश्विन २, २०८१ |कान्तिपुर टीभी संवाददाता
गगनको प्रश्न- भित्र प्रतिवेदनमा हस्ताक्षर गर्ने बाहिर आएर क्लिन चिट भनेर छट्टु कुरा गर्ने ?

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बाहिरबाटै सहकारी रकम ठगी गरेको पुष्टि भएको बताउनुभएको छ ।

सहकारी भित्र बसेर भन्दा पनि बढी रकम बाहिरबाटै ठगी गरेको संसदीय छानबिन समितिको प्रतिवेदनले स्पष्ट देखाएको उहाँको दाबी थियो । बुधबार पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले लामिछानेले आफूहरुले सोचेभन्दा धेरै करिव ६५ करोड ठगी गरेको पनि संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा उल्लेख गरिएको बताउनु भयो ।

उहाँले सो विशेष समितिमा रहेका रास्वपाका सांसद शिशिर खनालले लामिछानेले सहकारीमा ठगी गरेको स्वीकार गर्दै सो प्रतिवेदनमा हस्ताक्षर गरेर पनि बाहिर आएको क्लिन चिट पाएको भनेर छट्टु कुरा गरेको बताउनु भयो ।

महामन्त्री थापाले पार्टी उपसभापति धनराज गुरुङ माथि पनि सहकारी ठगीको आक्षेप लागेको र त्यसको तथ्य पत्ता लगाउनका लागि आफूहरुले सरकारलाई भनेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘इन्ट्रस्टिङ कुरा के छ भने त्यही सम्बन्धित पार्टीको सांसद साथी पनि यो समितिमा हुनुहुन्छ । उहाँले के लेख्नुहुन्छ भने मेरो पार्टीको श्रद्धेय सभापतिले कीर्ते गर्नु भएकाले कीर्तेमा उहाँलाई मुद्दा चलाउनु पर्दछ । मेरो पार्टीको श्रद्धेय सभापतिले ठग्नुभएको हुनाले गर्दा ठगीमा उहाँलाई मुद्दा चलाउनु पर्छ भनेर लेखेर सिग्नेचर गर्नुहुन्छ । अनि छट्टु भन्ने कि, के भन्ने ? बाहिर आएर ल मैले राम्रोसँग काम गरेर आएँ । तपाईलाई एउटा पनि दोष लागेको देखिएन । तपाई आजदेखि क्लिन हुनुभयो भनेपनि तालि पड्किन्छ ।’

महामन्त्री थापाले संसदीय छानबिन विशेष समितिले बुझाएको सो प्रतिवेदनलाई सरकारले कार्यान्वयनमा लैजाने विश्वास समेत व्यक्त गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement