कोशीमा मन्त्रिपरिषद् विस्तार, तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपिए

भाद्र २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
कोशीमा मन्त्रिपरिषद् विस्तार, तीन जना मन्त्री र एक जना राज्यमन्त्री थपिए

विराटनगर । मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज (शुक्रबार) कोशी प्रदेश सरकार विस्तार गर्नुभएको छ । कार्कीले आज तीन जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गर्नुभएको हो । गत वैशाख २७ गते नेकपा माओवादी केन्द्र र जसपाको समर्थनमा कार्की मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।

गत असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति भएपछि असार ११ गते नेकपा माओवादी केन्द्र कोशी प्रदेश सरकारबाट बाहिरिएको थियो । कांग्रेसभित्रको गुटगत राजनीतिका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको थिएन ।

नेपाली कांग्रेसले मन्त्रीमा सहभागी हुने प्रदेश सभा सदस्यको नाम दिएपछि कार्कीले नेपाली कांग्रेसलाई समावेश गरेर मन्त्रिपरिषद् विस्तार गर्नु भएको हो । नेपाली कांग्रेस कोशी प्रदेशका महामन्त्री समेत रहनुभएका भुपेन्द्र राईले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाउनु भएको छ ।

यस्तै खगेसिंह हाङगामले उद्योग, कृषि तथा सहकारी र सदानन्द मण्डलले पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएका छन् । भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा भूमी प्रसाद राजवंशी नियुक्त हुनु भएको छ । शेखर कोइराला पक्षलाई सहभागी नगराइ कांग्रेस सरकारमा गएको छ । राई र राजवंशी कृष्ण प्रसाद सिटौला पक्षका हुन् भने हाङ्गाम र मण्डल सभापती देउवा पक्षका हुन् ।

कांग्रेसको भागमा परेको स्वास्थ्य मन्त्रालय मुख्यमन्त्री कार्कीले आफैंसँग राख्नु भएको छ । कोइराला समूहका लागि स्वास्थ्य मन्त्रालय राखिएको कांग्रेस स्रोतले बताएको छ । कोइराला समूहले दुई वटा मन्त्रीमा दाबी गर्दै आएका कारण मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको थियो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement