काठमाडौं । बंगलादेशको शेख हसिना सरकार र नेपालको आफ्नो सरकार अमेरिकाले ढालेको आरोप लगाउने प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल अहिले कांग्रेस एमालेले दुई तिहाईको घमण्ड देखाए बंगलादेशमा जस्तै जनताले दण्डित गर्नेछन् भन्न थाल्नुभएको छ ।
दाहालका यी भनाइ एकातर्फ अतिरञ्जित छन् भने अर्का तर्फ एकअर्कासँग मेल पनि खाँदैनन् । उहाँकै भनाइलाई आधार मान्ने हो भने बंगलादेशमा सरकार अमेरिकाका कारण ढलेको हो कि जनआक्रोशका कारण ? गल्ति ढाकछोप गर्न खप्पिस दाहाल अहिले कार्यकर्ता थामथुम पार्न अनेक तर्क गरिरहनु भएको छ, र यो उहाँको चरित्र हो । किनकि उहाँ नै भन्नुहुन्छ सत्ताका लागि जे पनि गरिन्छ ।
संसद्मा प्रतिपक्षी दलले जनजीविकाका सवाल उठाएर सत्तापक्षलाई जिम्मेवार बनाउने हो । तर प्रतिपक्षमा पुग्नुभएका माओवादी केन्द्रका अध्यक्ष दाहाल जनजीविकाका सवालभन्दा पनि कांग्रेस एमालेलाई गाली गरेर आफ्नो सत्ता गुम्दाको पीडा मात्र पोखिरहनु भएको छैन, जनता भड्काउने गैरजिम्मेवार अभिव्यक्ति पनि दिइरहनु भएको छ ।
सरकारबाट बाहिरिएको एक महिनापछि पहिलो पटक भदौ ११ गते प्रतिपक्षी दलका नेताको हैसियतमा संसदलाई सम्बोधन गर्दा दाहालले सरकारले दुईतिहाइको घमण्ड देखाएको आरोप लगाउनुभयो । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ संकेत गर्दै संसद्को रोस्ट्रमबाटै बंगलादेश र श्रीलंकाको हालत हुने चेतावनी दिनुभयो । यो सत्तापक्षलाई सचेत गराउने भन्दा पनि जनता भड्काउने खालको अभिव्यक्ति थियो ।
प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा सदनमा बोलेको दुई दिनपछि कैलाली पुग्नुभएका दाहालले फेरि त्यस्तै अभिव्यक्ति दिनुभयो । उहाँले सदनमा बंगलादेश र श्रीलंकाको घटना सरकारलाई सम्झाएको तर दुई तिहाइको दम्भ देखाए सडक आन्दोलनमा जाने तर्क गर्नुभयो ।
भदौ १४ गते सुर्खेत पुग्नुभएका दाहालले फेरि भ्रष्टाचार र बेथिति नरोकिएर सदन र सडक दुवैतर्फ एकैसाथ आन्दोलन गर्ने चेतावनी दिनुभयो । सरकारको कार्यशैलीलाई लिएर प्रश्न उठाउनु विपक्षी दलको कर्तव्य नै हो । आन्दोलनमा जाने बाटो उसका लागि सदैव खुला हुन्छ । तर त्यसमा जनताको साथ र समर्थन पाउन जनजीविकाका सवाल उठाएको हुनुपर्छ । न कि आफ्नो सत्ता गुम्दाको पीडा । कांग्रेस र एमालेबीच भएको सात बुँदे सहमतिमाथि समेत उहाँले त्यसका विषयवस्तुभन्दा पनि स्थान र समयलाई लिएर प्रश्न उठाउँदै आउनुभएको छ।
संविधान संशोधनको कुरा गर्ने बित्तिकै प्रतिगमन देख्ने दाहालले आफू नेतृत्वको सरकार ढलेलगत्तै बसेको माओवादी स्थायी समिति बैठकमा झन गम्भीर अभिव्यक्ति दिनुभएको थियो । उहाँले आफ्नो सरकार अमेरिकाले ढालेको भन्दै बैठकमा आक्रोश व्यक्त गर्नुभएको थियो ।
आफ्नो सरकार र बंगलादेशमा शेख हसिनाको सरकार अमेरिकाले ढालेको भन्नु भएका दाहाल फेरि कांग्रेस एमालेलाई गाली गर्न दुई तिहाइको घमण्ड नदेखाउनु बंगलादेशमा के भयो भन्ने तर्क गर्नुहुन्छ । यसबाट कुन-कुरा सत्य हो भन्ने प्रश्न उठ्छ । यस्ता हचुवा अभिव्यक्ति दिएर एकातर्फ उहाँले देशभित्र विश्वास गुमाइरहनु भएको छ भने बाहिर मित्र राष्ट्रको विश्वास ।