धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार विश्वासको मत लिनु हुने भएको छ । दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिने कार्यसूची तय भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
त्यसका लागि सोमबार नै प्रदेशसभा सचिवालयमा पत्र पठाइएको छ । नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता शाह एमाले र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा साउन २० गते दोस्रोपटक मुख्यमन्त्री बन्नुभएको हो ।
संविधानको धारा १ सय ६८ को उपधारा (२) बमोजिम नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिने प्रावधान छ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा बहुमत प्राप्त गर्न २७ जनाको समर्थन आवश्यक पर्छ ।
सत्तारुढ दल कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात गरी ३६ जना प्रदेश सभा सदस्य भएकाले मुख्यमन्त्री शाहलाई विश्वासको मत प्राप्त गर्न सहज छ । विश्वासको मत प्राप्त गरेपछि बजेट ल्याउने मुख्यमन्त्री शाहको तयारी छ ।