कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत, पक्षमा २३ विपक्षमा १४ मत

श्रावण २१, २०८१ |कमल पन्त
कर्णालीका मुख्यमन्त्री कँडेललाई विश्वासको मत, पक्षमा २३ विपक्षमा १४ मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले तीन महिनाको अवधिमा प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिनु भएको छ । यस अघि एमाले-माओवादी गठबन्धनकाबेला वैशाख १३ गते प्रदेश सभाबाट पहिलो पटक विश्वासको मत लिएको थिए ।

नेकपा एमाले र नेपाली कांग्रेसको पछिल्लो नयाँ सत्ता समीकरण अनुसार आज बसेको प्रदेश सभाको बैठकबाट मुख्यमन्त्री कँडेलले विश्वासको मत लिनु भएको हो । संविधानको धारा १६८ (४) अनुसार मुख्यमन्त्री कँडेलले आज विश्वासको मत लिनु भएको हो । केन्द्रको सत्ता समीकरण फेरबदल भएपछि माओवादीले  सरकारलाई दिएको समर्थन साउन ७ गते फिर्ता लिएको थियो । 

सत्ता साझेदार दलले दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री कँडेलले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । विश्वासको मतका लागि मुख्यमन्त्रीले राखेको प्रस्तावको पक्षमा २३ जना सांसदले मत दिए । प्रस्तावको विपक्षमा १४ सांसदले मतदान गरेका छन् । 

विश्वासको मत लिने प्रस्तावमा ३७ जना प्रदेश सभा सदस्य मतदानमा सहभागी भएका थिए । एक जना मात्र सदस्य रहेको राप्रपा भने बैठकमा अनुपस्थित रहेको थियो ।

४० सदस्यीय कर्णाली प्रदेश सभामा नेपाली कांग्रेसका १४,  माओवादी केन्द्रका १३, नेकपा (एमाले) का १० (सभामुखसहित), राप्रपा र समाजवादीका १/१ जना गरी हाल ३९ जना सांसद छन् । नेपाली कांग्रेसका १५ सांसद रहेकोमा एक जना निलम्बनमा छन् । 

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएपछि संसदीय दलका नेता जीवनबहादुर शाही चैत २२ गतेदेखि निलम्बनमा परेका छन् ।


Image

कमल पन्त

पन्त कान्तिपुर टीभीका सुर्खेत प्रतिनिधि हुन् ।