सुदूरपश्चिम सरकारका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

दलहरूको सत्ता स्वार्थले बजेट अलपत्र
श्रावण १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
सुदूरपश्चिम सरकारका मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले साउन १८ गते विश्वासको मत लिने हुनु भएको छ । मुख्यमन्त्रीको आग्रहमा विश्वासको मत लिने प्रयोजनका लागि सुदूरपश्चिम प्रदेशसभा सचिवालयले शुक्रबार अपराह्न ४ बजे प्रदेशसभा बैठक बोलाएको छ ।

असार २० गते एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नु भएका मुख्यमन्त्री सोडारीले अन्तिम दिन विश्वासको मत लिन लाग्नु भएको हो । तर, सोडारीले प्रदेशसभाबाट विश्वासको मत भने पाउने अवस्था छैन । ५३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि २७ जनाको समर्थन चाहिन्छ । तर, उहाँसँग आफ्नो दल एकीकृत समाजवादीका ४ र माओवादी केन्द्रका १० गरी १६ जना सदस्य मात्रै छन् ।

नयाँ गठबन्धनमा रहेका नेपाली कांग्रेस सँग १८ र नेकपा एमाले सँग ११ गरी २९ जना प्रदेशसभा सदस्य रहेकाले सहजै सरकार बन्ने अवस्था छ । अझ नागरिक उन्मुक्ति पार्टीका ७ जना प्रदेशसभा सदस्यले पनि नयाँ गठबन्धनलाई समर्थन गर्ने जनाएका छन् ।

दलहरूको सत्ता स्वार्थले बजेट अलपत्र

सोडारी नेतृत्वको सरकारले असार १ गते ल्याएको बजेट पारित गराउन नसकेपछि साउन १ देखि प्रदेश बजेट होलिडे को अवस्थामा छ । सत्ता र प्रतिपक्षबीचको सत्ता स्वार्थ र इगोले प्रदेशसभाबाट बजेटसम्बन्धी ऐनहरू पारित नहुँदा सरकारले प्रदेश मातहतका कार्यालयमा राजस्व उठन सकेको छैन । बजेट शून्यताको अवस्था आउनुमा मुख्यमन्त्री र एमाले दोषी देखिएका छन् । एमालेका आर्थिक मामिलामन्त्री सुरेन्द्र पालले आफैंले ल्याएको बजेट पारित नगरी समर्थन फिर्ता लिएपछि प्रदेशमा बजेट शून्यताको अवस्था पुगेको हो । अब नयाँ आउने सरकारले अध्यादेश मार्फत बजेट ल्याएपछि मात्रै प्रदेशमा बजेट शून्यताको अवस्था अन्त्य हुनेछ । त्यस पछि मात्रै प्रदेशमा राजस्व उठाउन र खर्च गर्न बाटो खुल्नेछ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.