सत्ताबाट हट्दाको पीडा नपोखौं : गोकुल बास्कोटा

श्रावण १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
सत्ताबाट हट्दाको पीडा नपोखौं : गोकुल बास्कोटा

काठमाडौं । सत्तारुढ नेकपा एमालेका सांसद गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रलाई सत्ताबाट हट्नुपर्दाको पीडा नओकल्न आग्रह गर्नुभएको छ ।

संसद्‌मा सरकारविरुद्ध माओवादी केन्द्रका सांसदहरुको अभिव्यक्ति आउन थालेपछि उहाँले मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा यस्तो धारणा राख्नुभएको हो । उहाँले मुलुकलाई निकास दिन दुई ठुला दल कांग्रेस र एमालेले नयाँ सत्तासमीकरण बनाएको उल्लेख गर्दै त्यसको विरोध गरिरहन आवश्यक नभएको बताउनुभयो ।

उहाँले सत्तारुढ गठबन्धन मुलुकको आवश्यकताले बनाएको उल्लेख गर्दै यो कसैविरुद्ध लक्षित नरहेको दाबीसमेत गर्नुभयो । सांसद बास्कोटाले साना दलहरुले सत्तामा मरिहत्ते गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम हुन नसकेको विगतबाट सबैले पाठ सिकेर अघि बढनुपर्ने धारणा पनि राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुईवटा ठुला दल मिलेका छन् । ती राजनीतिक रुपमा मिल्दैनन्, सैद्धान्तिक रुपमा मिल्दैनन् । कार्यक्रमका रुपमा मिल्दैनन् । मुलुकलाई निकास दिन मिल्छन्,’ उहाँले भन्नुभयो, ‘इतिहासमा पनि मिलेका थिए, आज पनि मिल्छन् । भोलि पनि मिल्छन् । यति कुरा हो- मुलुकका आवश्यकताअनुसार कसैका विरुद्ध यो होइन । आ-आफ्नो सामर्थ्यमा चलौं । अब यो हिजोको पीडा मात्रै बोकेर नहिँडौं ।’

सांसद बास्कोटाले विकास, निर्माणको काममा ध्यान दिनुपर्ने बेलामा सत्तापक्ष र प्रतिपक्षबीच संसदमा आरोप/प्रत्यारोप हुनु शोभनीय नभएको पनि बताउनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.