कांग्रेस-एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : अध्यक्ष दाहाल

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
कांग्रेस-एमालेले जनताको अधिकार खोस्न खोजे सडक संघर्षमा जान्छौं : अध्यक्ष दाहाल

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस-एमालेले संविधान संशोधनमार्फत नागरिकको अधिकार खोस्न खोजे सडक संघर्ष गर्न बाध्य हुने चेतावनी दिनुभएको छ ।

संविधान संशोधन गरेर सत्तारुढ कांग्रेस एमालेले जनताको अधिकार खोस्ने दुस्साहस गरिरहेको उल्लेख गर्दै उहाँले त्यसलाई सफल हुन नदिने बताउनुभएको हो । उहाँले फेरि सडकमा पलेटी कसेर जनदबाब सिर्जना गर्न बाध्य हुने चेतावनी दिनुभयो । पुष्पलाल स्मृति प्रतिष्ठानले काठमाडौंमा शनिबार गरेको कार्यक्रममा उहाँले नेपाली जनतालाई थप अधिकार दिलाउन आफूहरुले संविधान संशोधन गर्न चाहेको स्पष्ट पार्नुभयो । तर जनताको अधिकार कटौती गर्ने आशयका साथ सत्तारुढ दलहरु आए त्यसविरुद्ध संघर्ष गर्ने उहाँको चेतावनी छ ।

दुई ठुला पार्टीले गर्न खोजेको संविधान संशोधन भनेको नेपाली जनताले प्राप्त गरेका अधिकारलाई पनि खोस्न खोज्ने, त्यसलाई उल्ट्याउने र देशलाई फेरि पहिलेकै निरंकुशतातिर लैजान चाहने खालको भएको उहाँको जिकिर छ । उहाँले त्यस्ता गतिविधि स्वीकार्य नहुने पनि बताउनुभयो । अध्यक्ष दाहालले ठुला दुई दलले थ्रेस होल्ड बढाएर साना दलहरुलाई निस्तेज पार्ने प्रयास गरेको आरोप पनि लगाउनुभयो ।

‘अहिले पनि के स्पष्ट छ भने संसद्‌को पहिलो र दोस्रो पार्टी मिल्ने कुरा सामान्य त त्यो स्वभाविक मानिँदैन । कथित संसदीय लोकतन्त्रमा त झन् मानिँदैन । तर अहिले त्यो अभ्यास गर्न खोजिँदै छ । दुईदलीय सिस्टममा लैजाने उद्देश्यका साथ सो काम हुँदै छ,’ अध्यक्ष दाहालले भन्नुभयो, ‘संविधान संशोधनको उद्देश्यका साथ । संविधान संशोधन गर्नै हुँदैन भनेर कसैले पनि भनेको छैन । अझ हामी त संविधान संशोधन गर्नुपर्छ भन्नेमा छौं । किनकि संविधानसभामा महिलाको अधिकार अथवा अरु उत्पीडित समुदाय, वर्गको अधिकार अझै पुगेको छैन । यहाँ त्यो अधिकारलाई अझ बढोत्तरी गर्नुपर्छ भनेर रिजर्भेसन राख्ने, भिन्न मत राख्ने, नोट अफ डिसेन्ट राख्ने पार्टी हुनुको नाताले हामी संविधान संशोधनको पक्षमा छौं ।’

अध्यक्ष दाहालले सबै कम्युनिस्टलाई एकै ठाउँमा ल्याउने प्रयासलाई पनि अघि बढाउने बताउनुभयो ।

यस्तै कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्टहरु एकठाउँमा उभिनुपर्ने भए पनि नेतृत्वमा एकाधिकारवादी सोच हावी हुँदासम्म सम्भव नभएको बताउनुभयो ।

उहाँले एमालेभित्र धेरै नेता कम्युनिस्ट एकताको पक्षमा रहे पनि प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको त्रासका कारण बोल्न नसक्ने स्थितिमा रहेको दाबी गर्नुभयो । एकीकृत समाजवादीका अर्का नेता झलनाथ खनालले कांग्रेस र एमालेको मात्रै चाहनामा स‌ंविधान संशोधन नहुने दाबी गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement