उपेन्द्र यादवको दाबी- नेपालका कम्युनिस्ट पार्टीहरु सत्ता, भत्ता र पदलाई नै साम्यवाद ठान्दछन्

श्रावण १२, २०८१ |कान्तिपुर टीभी संवाददाता
उपेन्द्र यादवको दाबी- नेपालका कम्युनिस्ट पार्टीहरु सत्ता, भत्ता र पदलाई नै साम्यवाद ठान्दछन्

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालका कम्युनिस्ट पार्टीहरु सत्ताका लागि कल्पना नै गर्न नसकिने गरी गिर्ने गरेको टिप्पणी गर्नुभएको छ ।

सत्ता, भत्ता, पैसा र पदलाई साम्यवाद हो भन्ने ठान्ने कामसमेत नेपालका कम्युनिस्ट पार्टीका नेताहरुले गरेको उहाँको जिकिर थियो । ‘अहिलेको कम्युनिस्ट साथीहरु नरिसाउनु होला । अहिलेका कम्युनिस्ट पार्टीका नेताहरुको हेर्छु म सत्ता, भत्ता, पैसा, पद नै साम्यवाद हो भन्ने ठान्नुभएको छ । र त्यसको दौडमा यतिसम्म गिर्दछन् कि कल्पना नै गर्न सकिँदैन । त्यो युग अहिले आएको छ,’ अध्यक्ष यादवले भन्नुभयो ।

पुष्पलाल स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा उहाँले सत्ताका लागि कम्युनिस्टहरु राजावादीसँग पनि सहकार्य गर्ने गरेको बताउनुभयो ।

कम्युनिस्ट दर्शन र चिन्तन हराएपछि नेपालका कम्युनिस्ट पार्टीहरुमा अवसरवाद मात्रै बाँकी रहेको उहाँको भनाइ थियो । अध्यक्ष यादवले सही बाटोमा रहेका केही कम्युनिस्ट पार्टीहरुले भने मुलुकमा दुःख पाउनुपरेको बताउनुभयो ।

‘कुनै पनि काम बाँकी नछोड्ने । राजावादीसँग पनि एकता गर्ने, गरेकै हो । के-का लागि ? सरकारका लागि । त्यो पनि दुई दिनको सरकारका लागि । राजवादी पनि चलेकै छ, कांग्रेस पनि चलेकै छ । अर्को पनि चलेकै छ । जोसँग पनि चलेकै छ । के-को लागि भन्दाखेरी त्यहाँ वैचारिक अन्योल, आदर्श र चिन्तन हराएपछि केवल अवसरवाद मात्रै बाँकी रहँदो रहेछ । र त्योचाहिँ सबैमा होइन,’ उहाँले भन्नुभयो, ‘त्यसले चरम अवस्थामा रहेका छरिएर रहेका नेपालका कम्युनिस्टहरुमा को सही हो, को गलत हो ? छुट्टयाउनै गाह्रो छ । तर जो सही बाटोमा हुनुहुन्छ, उहाँहरुले दुःख पाइराख्नु भएको छ । ती सुविधा, अवसरबाट वञ्चित भएर दुःख पाइराख्नुभएको छ । त्यो अवस्था देखिएको छ ।’

अध्यक्ष यादवले कम्युनिस्ट पार्टीहरुमा देखिएको अवसर नै समाजवाद निर्माणका लागि बाधकका रुपमा देखिएको दाबीसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement