काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले पूर्वमन्त्री तथा जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्र महतोले पाँच हजार घुस आफूले दिएको भन्ने विषयमा संसद् मौन बस्न नहुने बताउनुभएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद केसीले यस विषयमा तीन दिनभित्र सदनलाई जानकारी दिन सरकारसँग माग गर्नुभयो । उहाँले संसद्को रोस्ट्रमबाट पूर्वमन्त्री तथा सांसदले पाँच हजार घुस दिएँ भन्दै उठाएको विषयमा सभामुखबाट किन रुलिङ नभएको ? भन्दै प्रश्न गर्नुभयो ।
उहाँले पाँच हजार घुस दिएको विषय संसद्ले नजरअन्दाज गर्न नमिल्ने बताउनु भयो । उहाँले उक्त विषयमा सभामुखबाट रुलिङ हुन्छ भन्ने आश भए पनि नभएको गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो,‘संसदमा पूर्वमन्त्री तथा सांसदले अध्ययनको प्रमाणपत्र प्रमाणित गर्न ५ हजार घुस दिएको विषयलाई संसद्ले नजरअन्दाज गर्न मिल्दैन । सभामुखले रुलिङ गर्न आवश्यक थियो । तर भएन । घुस खाएको विषय संसद्मा बोल्दा समेत संसद् मौन बस्नु हुँदैन ।'
उहाँले पूर्वमन्त्री तथा सांसदले पनि घुस दिनुपर्ने अवस्था भए आमनागरिकको अवस्था के होला ? भन्दै प्रश्न गर्नुभयो ।