दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री चेतनारायण आचार्यले भोलि मात्रै शपथ ग्रहण गर्नु हुने भएको छ । कांग्रेससँग मन्त्रालय भागबन्डा मिलाएपछि मात्रै शपथ लिने उहाँको तयारी छ ।
प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम एमाले प्रदेशसभा संसदीय दलका उपनेता आचार्यलाई हिजो मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको थियो। आज दिनभर दुई दलबीच मन्त्रालय भागबन्डा गर्ने र मन्त्रीहरू समेत चयन गरेपछि भोली मन्त्रिपरिषद् गठन गरेर एकसाथ शपथ ग्रहण गर्ने आचार्यको तयारी छ ।
प्रदेशमा हाल रहेका ११ मन्त्रालयलाई कायमै राखेर भागबन्डा गरिने दलहरूले जनाएका छन् । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा कांग्रेसका २७ र एमालेका २९ सदस्य छन् ।