सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन पर्सि

मुख्यमन्त्री सोडारीले प्रदेश सभाबाट विश्वासको मत परीक्षण गर्ने
सुदूरपश्चिम प्रदेश बजेट शून्यताको अवस्थामा
श्रावण ६, २०८१ |टेकराज जोशी
सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन पर्सि

धनगढी । सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशन पर्सि (मंगलबार) दिउँसो आह्वान गरिएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सदन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरेपछि प्रदेश प्रमुख नजिर मियाँको निर्देशनमा मंगलबार दिउँसो २ बजे प्रदेश सभा बैठक आह्वान गरिएको हो ।

संविधानको धारा १८३ (३) बमोजिम एकचौथाइ सदस्यहरूको लिखित अनुरोधका आधारमा प्रदेश प्रमुखले विशेष अधिवेशन आह्वान गर्न पत्र पठाएबमोजिम बैठक बोलाइएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले चालु बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरी रहँदा कांग्रेस र एमालेको आग्रहमा प्रदेश प्रमुख मियाँले विशेष अधिवेशन आह्वान गर्नुभएको हो ।

यता सुदूरपश्चिमका मुख्यमन्त्री सोडारी भने तत्काल राजीनामा नदिने बताउनुभएको छ । प्रदेश सभामा विश्वासको मत परीक्षण गर्ने उहाँको तयारी छ ।

प्रतिपक्षी दलहरुले भने बजेट शून्यताका कारण प्रदेशको राजस्व संकलन र खर्चमा समस्या परेको भन्दै मुख्यमन्त्रीलाई छिटो राजीनामा दिएर सरकार गठनको बाटो खोल्न आग्रह गरेका छन् ।

असार १ गते सोडारी नेतृत्वको सरकारले ल्याएको बजेट पास नभएपछि सुदूरपश्चिममा साउन १ गतेदेखि बजेट शून्यताको अवस्था छ । मुख्यमन्त्री सोडारीले तत्काल राजीनामा दिने सम्भावना नरहेकाले प्रदेशमा आर्थिक संकट लम्बिने र यसले राजस्व संकलन र खर्चमा थप समस्या पर्ने देखिएको छ । एमालेले २० गते विश्वासको मत फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतामा पर्नुभएको हो ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement