माओवादी अध्यक्ष दाहालाई कार्यकर्ताको सुझाव-विचार मिल्ने पार्टीहरुसँग एकता गरौं

भाद्र ३१, २०८१ |अवतार राई
माओवादी अध्यक्ष दाहालाई कार्यकर्ताको सुझाव-विचार मिल्ने पार्टीहरुसँग एकता गरौं

काठमाडौं । सरकार छोडेलगत्तै पार्टी संगठन कमजोर बनाएको आरोप लागेपछि गाउँ जाने निर्णय गर्नुभएका माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रदेश भ्रमण सक्नुभएको छ । प्रदेश परामर्श बैठक सकेर केन्द्रीय समिति बैठक बसाउने तयारीमा दाहाल हुनुहुन्छ । प्रदेश भ्रमणमा निस्किनुअघि स्थायी समिति बैठकमा उपमहासचिव जनार्दन शर्मा लिखित रुपमै फरक मत पेस गरेपछि अप्ठेरोमा पर्नुभएका दाहाललाई प्रदेशबाट भने राहतको खबर लिएर फर्किँदै हुनुहुन्छ ।

अध्यक्ष दाहालसँगै प्रदेशहरुमा परामर्शका लागि पुगेका नेताहरुको दाबी छ – पार्टी पंक्तिले नेतृत्वलाई सबै माओवादी घटक र विचार मिल्ने पार्टीहरुबीच ध्रुवीकरण गर्दै विशाल कम्युनिष्ट पार्टीको नेतृत्व माओवादीले गर्नुपर्ने सुझाव दिएको छ ।

केन्द्रीय समिति बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल उपमहासचिवसम्मका नेताहरु लिएर परामर्शका लागि सबै प्रदेश पुग्नुभयो । स्थायी समिति बैठकमा नेतृत्वको विकल्प खोज्नुपर्ने दबाब दिनुभएका उपमहासचिव जनार्दन शर्मा पनि दाहालसँगै भ्रमणमा हुनुहुन्थ्यो । दाहालसँगै दुई उपाध्यक्ष, महासचिव र पाँच उपमहासचिवलाई समेत सबै बैठकमा सहभागी रहे ।

शीर्ष तहका सबै नेतालाई लिएर प्रदेश तहमा पार्टीको जनमत बुझ्न पार्टी नेतृत्व प्रदेश पुग्दा स्थायी समिति बैठकमा उपमहासचिव शर्माले राखेको फरक मत र प्रस्तावको विषयमा चर्को बहस भए । शर्माको मत र विचारसँग कतिपयले सहमति जनाए पनि धेरैले तत्कालका लागि दाहालको नेतृत्वको विकल्प नभएको बताएको नेताहरुको दाबी छ । अब बस्ने केन्द्रीय समिति बैठकमा शर्माको मत र विचारलाई समेटेर एउटै दस्तावेजको तयारीमा दाहाल हुनुहुन्छ ।

उसो त दाहालले प्रदेशका कार्यक्रमहरुमा आउने चुनावमा आफ्नै बलमा पार्टी सबैभन्दा ठूलो शक्ति बन्ने दाबी गर्न छोड्नुभएन । दाहालले कार्यकर्तालाई उत्प्रेरित गर्न यस्तो भाषण गरे पनि बैठकमा भने सत्ता र शक्तिमा केन्द्रित भएकोमा पार्टी नेतृत्वको आलोचना भएको छ । विचार मिल्ने कम्युनिष्ट घटकबीच एकता गर्नुपर्नेमा ढिलो भएको गुनासो कार्यकर्ताले गरेको कुराबाट बुझिन्छ, तल्लो तहसम्म पार्टी कमजोर भएकोमा कार्यकर्ता चिन्तित छन् ।

नेतृत्वले भने सरकारमा रहेर पार्टीले सकारात्मक काम गरे पनि त्यसको प्रचारमा कार्यकर्ता पंक्तिबाट सहयोग नभएको गुनासो पोखेर फर्किँदैछ । अध्यक्ष दाहालले यसैमा आधारित भएर आसन्न केन्द्रीय समिति बैठकका लागि दस्तावेज तयार गर्नुहुने भएको छ । 


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement