प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल

पक्षमा ६३, विपक्षमा १९४ र तटस्थमा १ मत
प्रधानमन्त्री दाहालले संसद्‌मा पाउनुभएन विश्वासको मत
अब कांग्रेस-एमाले गठबन्धनबाट केपी ओली प्रधानमन्त्री बन्ने
असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
प्रधानमन्त्री दाहाल विश्वासको मत पाउन असफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आज प्रतिनिधिसभामा माग्नुभएको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

दाहालले माग्नुभएको विश्वासको मतको पक्षमा ६३ मत पर्यो । विपक्षमा १९४ मत पर्दा एकजना सांसद् तटस्थ बसे । सभामुख देवराज घिमिरेका अनुसार आज सदनमा २५८ जना सांसद उपस्थित थिए ।

दाहालले प्रधानमन्त्रीका रूपमा तेस्रो कार्यकाल सम्हालेयता संसद्‌मा पाँचौंपटक विश्वासको मत माग्नुभएको हो । तर नेपाली कांग्रेस, नेकपा एमालेलगायत दलहरुले दाहाललाई विश्वासको मत दिएनन् ।

दाहालको पक्षमा माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र एकीकृत समाजवादीको १० मत मात्र पर्यो । त्यसअघि सभामुख घिमिरेले विश्वासको मत विभाजनका लागि सांसदहरुलाई भनेपछि दलहरुले पक्ष र विपक्षमा मतदान गरेका थिए । योसँगै प्रधानमन्त्री दाहालले संसद्‌बाट विश्वासको मत नपाएसँगै पदमुक्त हुनुभएको छ ।

त्यसअघि संसद् भवन नयाँ बानेश्वरमा बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुभएको थियो । त्यस क्रममा उहाँले आफ्ना भनाइ पनि राख्नु भएको थियो । त्यसपछि प्रधानमन्त्रीको प्रस्तावमा संसद्‌मा प्रतिनिधित्व गर्ने दलहरूले दलीय आधारमा धारणा राखे ।

२०७९ पुस १० मा प्रधानमन्त्री नियुक्त दाहालले यसपालि भने विश्वासको मत पाउन सफल हुनुभएन । अब नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको छ । दुई ठुला दल कांग्रेस र एमालेको सहमतिअनुसार अब एमाले अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बन्नेछ ।

प्रतिनिधिसभाको अर्को बैठक आगामी असार ३० गते आइतबार अपराह्न ३ बजेका लागि बोलाइएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement