ठूला भ्रष्टाचारका काण्ड खोतल्न थालेपछि डराएको वर्गले दुई दललाई मिलाइदियो : प्रधानमन्त्री दाहाल

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
ठूला भ्रष्टाचारका काण्ड खोतल्न थालेपछि डराएको वर्गले दुई दललाई मिलाइदियो : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेस र नेकपा एमाले मिलेर रहस्यमय तरिकाले संविधानमाथि छेडछाड गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ । प्रधानमन्त्री दाहालले अहिलेको संविधान बनाउन माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेकाले यसलाई कमजोर हुन नदिने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रतिनिधिसभामा आज विश्वासको मतको प्रस्ताव पेश गर्दै प्रधानमन्त्री दाहालले कांग्रेस र एमालेले बन्द कोठामा सहमति गरेर आफूलाई हटाउने र संविधान संशोधन गर्न खोजेको आरोप लगाउनुभएको हो । उहाँले संविधान संशोधनका नाममा देशलाई द्वन्द्वतिर लैजान दुस्साहस नगर्न चेतावनी दिनुभयो ।

प्रधानमन्त्री दाहालले कांग्रेस र एमाले आफैं नमिलेको र राष्ट्रिय सहमतिका नाममा कसैले मिलाइदिएको आरोप लगाउनुभयो । उहाँले नियत सफा भएको भए पहिलो र दोस्रो दल मिल्न बन्द कोठा किन चाहियो भन्दै प्रश्न पनि गर्नुभयो ।

प्रधानमन्त्री दाहालले देशमा सुशासन कायम हुन थाल्यो भन्ने डरले कांग्रेस र एमाले जोडिएको आरोप लगाउनुभयो । उहाँले सरकारले ठूला भ्रष्टाचारका काण्ड खोतल्ल थालेपछि डराएको वर्गले दुई दललाई मिलाइदिएको दाबी गर्नुभयो ।

प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले ठूला भ्रष्टाचारका काण्ड खोतलेको, विभिन्न तहका नेताहरुमाथि छानबिन अघि बढाएको र देशलाई समृद्धिको बाटोमा अघि बढाएको दाबी गर्नुभयो । उहाँले राज्यका पाँच निकायमा प्रमुख पाँच दलको न्यायपूर्ण शक्ति बाँडफाँट गरेको र अर्थतन्त्र सुधारको बाटोमा आफैंले लगेको दाबीसमेत गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement