नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री दाहाल

असार २८, २०८१ |कान्तिपुर टीभी संवाददाता
नयाँ सरकार पनि संविधान नमिची बनाउनु होला : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संसद बचाउन नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ ।

प्रतिनिधि सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै उहाँले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेकाहरुले संसद नै निल्ने प्रयास गर्ने बताउनु भयो । उहाँले काँग्रेसलाई संविधान मिच्नेतिर नलाग्न आग्रह गर्नुभयो । उहाँले नयाँ सरकार पनि संविधान नमिची बनाउन आग्रह गर्नुभयो ।

‘म कांग्रेस-एमालेका साथीहरूलाई पनि सहकार्यको बधाइसहित केही भन्न चाहन्छु । तपाईहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,’ उहाँले भन्नुभयो, ‘कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं ।’

प्रधानमन्त्री दाहालले विगतमा संसद कांग्रेस र नकेपा (माओवादी केन्द्र) मिलेर जोगाएको भन्दै अब पनि जोगाउन आग्रह गर्नुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement