प्रधानमन्त्री दाहालको ‘बोलीमा बाम एकता’, व्यवहारमा विग्रहका काम

होला त कम्युनिस्ट पार्टीबीच एकता ?
असार २६, २०८१ |अवतार राई
प्रधानमन्त्री दाहालको ‘बोलीमा बाम एकता’, व्यवहारमा विग्रहका काम

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको दल माओवादी केन्द्र कम्युनिस्ट एकता कुरा गर्ने तर सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेलाई चिढ्याउने काम गरिरहेको छ । आफू नेतृत्वको सरकार ढलेर एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन हुने निश्चित जस्तै भए पनि प्रधानमन्त्री दाहाल सहज सत्ता हस्तान्तरण नगरी अड्को थापेर बस्नुभएको छ । यसले कम्युनिस्ट पार्टीबीच एकतालाई झन् चिढ्याउने काम मात्र गरेको देखिन्छ ।

कम्युनिस्ट पार्टीहरुबीचको एकता र ध्रुवीकरण गरेर राष्ट्रिय शक्ति बन्नुपर्ने कुराको वकालत सबैभन्दा बढी गर्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल नै अहिले नेकपा एमालेलाई चिढ्याइरहनुभएको छ । उहाँ संसद्‌मा रहेको सबैभन्दा ठूलो कम्युनिस्ट पार्टी एमालेसँग दुरी घटाउनेभन्दा पनि बढाउन सक्रिय हुनुहुन्छ । बोलीमा बाम एकताको कुरा गर्ने तर व्यवहारमा एमालेलाई चिढ्याउने उहाँको यो रवैया एकताका लागि प्रत्युत्पादक हुनसक्छ । अहिलेको क्षणिक राजनीतिक परिस्थितिले उहाँलाई एमालेको व्यवहार मन नपरेको होला । तर उहाँको पार्टी २०८४ सालको चुनावसम्ममा फेरि कार्यगत एकता हुने कुरा गरिरहेको छ ।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा तत्काल परिस्थिति बदलिए पनि केही समय पछि नै आफूहरूबीचको कार्यगत एकता र पार्टी एकताकै तहसम्मको प्रयासले निरन्तरता पाउने बताउनु हुन्छ । ‘सायद ८४ अघि नै यी सब प्रकृया पूरा हुनेछ । किनकि आम जनताको मनोभावना नेता कार्यकर्ताको चाहाना यही हो’, उहाँले भन्नुभयो । 

यदि सापकोटाले भनेजस्तै २०८४ सम्ममा एकता तर्फ जाने हो भने अहिले किन एमालेलाई चिढ्याइरहेको ? एमालेसँग मिलेर सरकार चलाइरहेका बेला प्रधानमन्त्री दाहाल राष्ट्रिय सहमतिको सरकारको नाममा फेरि कांग्रेससँग नजिकिए पछि अहिलेको राजनीतिक वातावरणको जग बसेको हो । माओवादीसँग रुष्ट हुनुभएका एमाले अध्यक्ष केपी शर्मा ओली नेपाली काँगेसको सहकार्यमा प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । कुरा, यो हदसम्म बिग्री सक्दा पनि सहजै मार्ग प्रशस्त नगरेर दाहाल ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्ने कसरतमा हुनुहुन्छ । यसले उहाँको वाम एकताको चाहनामा धक्का पुग्ने निश्चित छ । 

अहिले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री दाहालसँग चिढिनुको मुख्य कारण नै हुँदाखाँदाको समीकरण भत्काएर कांग्रेससँग राष्ट्रिय सहमतिको सरकार बनाउने कुरा गर्न थाल्नु हो । विश्लेषक नरेन्द्रजंग पिटर पनि प्रधानमन्त्री दाहालले साँच्चै कम्युनिस्ट एकता चाहने हो भने अहिले ओलीलाई सहज वातावरण बनाइदिनुपर्ने बताउनुहुन्छ । ‘नेताहरूमा व्यक्तिगत टकराब धेरै देखियो । एकताको कुरा गर्ने माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले साच्चिको कम्युनिस्ट एकता चाहेको हो भने त ओलीलाई सहज वातावरण बनाइदिनु पर्थ्यो । तर क्षणिक मिलेजस्तो देखिए पनि हिजो देखिनै कम्युनिस्ट पार्टीकै नेताहरुबीच बढी लडाइ हुने गरेको छ,’ उहाँले भन्नुभयो ।

हुन त बाम एकता के का लागि भन्नेमा नेपालका कम्युनिस्ट पार्टीहरू नै स्पष्ट छैनन् । यहीकारण नेपालको कम्युनिस्ट आन्दोलनमा एकता र फुटको लामो शृङ्खला छ । 

प्रधानमन्त्री दाहालले साँच्चै वाम एकता चाहेको हो भने त्यसको सिद्धान्त र आवश्यकतामा प्रस्ट हुनु जरुरी छ । फेरी एकता एक्लै नहुने भएकाले अर्को पक्ष पनि तयार हुन जरुरी छ । विगतमा दुई दल मिलेर नेकपा बनेको र भत्केको कारणको समीक्षा पनि आवश्यक छ । र यी सबैका लागि नेकपा एमालेका अध्यक्ष ओली सँगै वार्ता र संवाद गर्नु पर्छ । तर दाहाल त्यो संवादको ढोका नै बन्द हुने गरी अहिले नेकपा एमाले पार्टी र त्यसका अध्यक्ष लगायतका नेताहरूलाई चिढ्याइरहनु भएको छ । 

त्यसैले प्रधानमन्त्री ज्यु यदि वाम एकताको कुरा गर्ने हो भने अहिले सहजरुपमा सत्ता हस्तान्तरण गरेर संवाद थाल्नुहोस् । देशको ठुलो कम्युनिस्ट पार्टीलाई चिढ्याउन बन्द गर्नुहोस् ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement