के एकीकृत समाजवादीमा महाधिवेशनबाटै सर्वसम्मत नयाँ नेतृत्व चयन होला ?

असार १९, २०८१ |अवतार राई
के एकीकृत समाजवादीमा महाधिवेशनबाटै सर्वसम्मत नयाँ नेतृत्व चयन होला ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी महाधिवेशनबाट सर्वसम्मत नयाँ नेतृत्व चयनको सम्भावना न्यून भएको छ । पदाधिकारी र केन्द्रीय सदस्यहरूमा आकांक्षी धेरै भएपछि प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुने देखिएको हो । अध्यक्षमा माधवकुमार नेपालसँगै नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले दाबी छाड्नु भएको छैन । यसै गरी अन्य पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी धेरै देखिए पनि चुनावमार्फत नै नेतृत्व चयन गर्नुपर्ने दबाब बढेको हो ।

महाअधिवेशन कै बीचमा राष्ट्रिय राजनीतिमा ठुलो उथलपुथल भएपछि एकीकृत समाजवादीको पार्टी महाधिवेशनमा यसले समेत प्रभाव पारेको छ । यहीकारण राष्ट्रिय राजनीति जटिल भएको भन्दै वर्तमान अध्यक्ष माधव कुमार नेपालको नेतृत्वलाई निरन्तरता दिनुपर्ने आवाज पनि उठ्न थालेको छ ।

नेकपा एमालेबाट विभाजित भई ३४ महिनाअघि गठन भएको नेकपा एकीकृत समाजवादीको नयाँ नेतृत्व चयनका लागि भइरहेको महाधिवेशनमा आकांक्षीको भीड लागेको छ । नयाँ पार्टी गठनपछिको पहिलो महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने अध्यक्ष माधवकुमार नेपालको चाहना छ । नेपालले आफैँ नेतृत्व गर्ने चाहना राख्नुभएको छ । तर नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले पनि अध्यक्षमा दाबेदारी प्रस्तुत गरेपछि नेपाल सर्वसम्मत हुने सम्भावना न्यून देखिएको हो ।

माधवकुमार नेपाललाई पार्टी अध्यक्ष हुनबाट रोक्न झलनाथ खनाल सक्रिय देखिनुभएको छ । खनालले अध्यक्षको दाबेदारीबाट पछि हट्नुपर्ने अवस्था आए महासचिव घनश्याम भुसाललाई समर्थन गर्ने सम्भावना छ । खनालको साथ लिएर पार्टी अध्यक्ष बन्ने प्रयासमा भुसाल लाग्नुभएको छ । 

महाधिवेशनमा प्रतिस्पर्धा सामान्य भएपनि अहिलेको परिस्थितमा एकजुट भएर सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने आवाज पनि उठिरहेको छ ।

महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, एक महिलासहित सात उपाध्यक्ष, महासचिव, चार जना उपमहासचिव, सात सचिवसहित २१ सदस्यीय पदाधिकारी चयन गर्ने छ । अध्यक्षबाहेकका पदाधिकारीमा पनि धेरै नेताको आकांक्षा छ । यता २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यका लागिसमेत दोब्बर आकांक्षी देखिएका छन् । महाधिवेशनले बिहीबार नेतृत्व चयन गर्ने छ ।


Image

अवतार राई

राई कान्तिपुर टेलिभिजनका संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement